६ आश्विन २०८३, मंगलबार

फ्लाई दुबईको नियमित उडानले जगायो अन्तर्राष्ट्रिय कनेक्टिभिटीको आशा



अन्योल र निराशा चिर्दै फ्लाई दुबईको नियमित उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आशाको सञ्चार गरेको छ।

काठमाडाैँ । दिउँसोको घाममा टलक्क टल्कने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख टर्मिनल भवन जो कसैको पनि नजरमा परिहाल्छ। धेरैले यसैको पृष्ठभूमिमा उभिएर तस्बिर खिचाउँछन्। तर, साँझ परेपछि यही भवनको दृश्य फेरिन्छ, जुन धेरैको नजरमा परेकै हुँदैन।

पृष्ठभूमिमा माछापुच्छ्रे हिमाले दिने शाेभा याे विमानस्थलकाे अर्काे “भ्याल्यू एडिसन” हाे । फेवाकाे नगरीमा बनेकाे याे विमानस्थललाइ क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल भनिएकाे थियाे । २०३० सालतिरै पश्चिमा पर्यटकहरू काठमाडाैँ झरेर बसकाे बाटाे पाेखरा पुग्नुपर्ने बाध्यता टार्न त्यहाँ अन्तरराष्ट्रिय विमानस्थलकाे कल्पना गरियाे ।

अन्नपूर्ण हिमश्रृङ्खलामा पश्चिमा पर्यटककाे “अर्जुनदृष्टि” परेपछि “साेझै पाेखरा” उतार्न सरकारले यस्ताे कदम अघि सारेकाे हाे । तर धेरै ढिला गरी विमानस्थल तयार भयाे । बनेपछि पनि यसकाे उपयाेग हुन सकेन । चीन सरकारसँग निकै ठूलाे ऋण लिएर चिनीयाँ कम्पनीकै हातमा ठेक्का दिएर सरकारले याे विमानस्थल बनायाे ।

यही कारण बन्याे, विमानस्थलकाे सञ्चालनमा अवराेध सिर्जना गर्ने ।

चीनसँग “वास्तविक सम्बन्ध” कमजाेर भएका मुलुकहरूले पाेखरा विमानस्थल (जसलाई चीनले बीआरआई परियोजनाको हिस्सा भनिदियो) बाट उडान भर्न अनिच्छा देखाए । फलस्वरुप यो विमानस्थल आधा मात्रै सञ्चालनमा आयो ।

त्यसैले, रातकाे समयमा टर्मिनल भवनकाे पश्चिमतिरको आन्तरिक उडान कक्ष झलमल्ल उज्यालो हुन्छ । तर पूर्वी भागमा रहेको अन्तर्राष्ट्रिय टर्मिनल कक्ष भने अन्धकारमा चुर्लुम्मै डुब्छ। मुख्य भवनको यो आधा उज्यालो र आधा अँध्यारो रूप नै यतिबेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यथार्थ स्वरूप बनेको छ।

लामो संघर्ष र जनदबाबपछि निर्माण भएको यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरेलीहरूको सपना पनि यही टर्मिनल भवनजस्तै बन्न पुगेको थियो। उद्घाटनका बेलाको तामझाम सेलाउँदै जाँदा यहाँबाट नियमित उडान हुन सकेन, जसले पोखरेलीको मात्र होइन, यो विमानस्थल बन्नुपर्छ भनी अहोरात्र खट्नेहरूको अनुहारमा पनि निराशा मात्र छायो।

कहिले भूराजनीतिक कारण त कहिले विभिन्न भ्रष्टाचार काण्डहरूको चपेटामा परेको विमानस्थलको भविष्यप्रति चौतर्फी शंका उब्जियो। तर, यही अन्योलको बादलबीच यतिबेला आशाको एक नयाँ “चाँदीको घेरा” देखिएको छ।

संसारका सयौं सहरसँग जोडिएको युएईको वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी भाेलि (असोज ७ गते) देखि पोखरामा नियमित उडान गर्ने भएपछि यहाँका नागरिक र व्यवसायीमा उत्साह फर्किएको छ।

पिश्चम एसियामा रहेको विशाल नेपाली श्रमशक्ति र दुबई ट्रान्जिट भएर विश्वका विभिन्न देशमा आवतजावत गर्ने यात्रीहरूलाई लक्षित गर्दै सुरु हुन लागेको यो उडानले पोखराको पर्यटनमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ। काठमाडौंको तुलनामा केही सस्तो भाडादर र आकर्षक प्याकेजसहित आउन लागेको यो वायुसेवालाई सफल बनाउन स्थानीय तहदेखि पर्यटन व्यवसायीसम्मले आन्तरिक तयारी तीव्र पारेका छन्।

विगतमा भएका केही चार्टर उडान र भैरहवा विमानस्थलको तीतो अनुभवबाट पाठ सिकेर यसपटक व्यवसायीहरू थप गम्भीर बनेका छन्। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङदेखि सुरक्षा र क्याटरिङसम्मका सबै प्राविधिक तयारीहरू पूरा भइसकेका छन्।

फ्लाई दुबईको यो पहललाई केवल एउटा उडानको रूपमा मात्र नभई भारत, चीन लगायत अन्य देशका एयरलाइन्सहरूलाई पोखरा भित्र्याउने सुनौलो ढोकाको रूपमा हेरिएको छ। पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई मध्यनजर गर्दै सरकारले भिसा प्रक्रिया सहज बनाउने र कूटनीतिक पहललाई निरन्तरता दिने हो भने यो विमानस्थल पोखराको मात्र नभई सिंगो देशको आर्थिक समृद्धिको बलियो आधार बन्ने पाेखरेली व्यवसायीहरूकाे मत छ ।