बेनलाई लिएर अमेरिका उड्दै बालेन, गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन्। उनले नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
प्रधानमन्त्री शाह आज अपराह्न ४:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्यूयोर्कतर्फ जाने कार्यक्रम छ। भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
महासभाको उच्चस्तरीय सत्रमा प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित अन्य अधिकारीहरूको समेत सहभागिता रहनेछ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्कनेछन्। प्रधानमन्त्री पद सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमणसमेत हो।














