हरित ऊर्जा र नवप्रवर्तनको कुम्भमेला: माघ ३ देखि काठमाडौँमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुँदै
काठमाडाैं । नेपालको ऊर्जा क्षेत्रको विकास, विस्तार, लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले इप्पान र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आगामी २०८३ माघ ३, ४ र ५ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
‘उत्थानशिल ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना गर्न लागिएका यो एक्स्पो सन् २०१७, २०१८, २०२२ र २०२४ का संस्करणको निरन्तरताका रूपमा पाँचौं संस्करण हो ।
नेपालको ऊर्जा क्षेत्र उत्पादन क्षमता विस्तार, विद्युत् खपत वृद्धि, अन्तरदेशीय विद्युत् व्यापार र हरित प्रविधिको विकाससँगै नयाँ चरणमा प्रवेश गरिरहेको अवस्थामा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने एक्स्पोका अघिल्ला संस्करणबाट प्राप्त अनुभव र उपलब्धिलाई विस्तार गर्दै नेपालको जलविद्युत् तथा समग्र स्वच्छ ऊर्जा क्षेत्रलाई नयाँ चरणमा लैजाने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
नेपाल सरकारले १० बर्षभित्र ३०,००० मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य हासिल र यसका लागि बारम्बार परिवर्तन भईरहने प्रविधिहरुको उच्चत्तम उपयोग तथा लगानीकर्तादेखि नीति निर्माता, विज्ञ, विशेषज्ञ, सरकारी प्रतिनीधिहरु हुँदै उपकरण तथा मेशिनका उत्पादकहरु, आपूर्तिकर्तासहित निजी क्षेत्रको प्रतिनीधिहरु अर्थात ऊर्जा क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले एक्स्पो इप्पान डे को अवसर पारेर हरेक बर्षको माघ ३, ४ र ५ गतेलाई वार्षिक ऊर्जा इभेन्टका रूपमा नियमित गर्ने लक्ष्य राखिएको छ ।
आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको एक्स्पोलाई परम्परागत जलविद्युतको दायरालाई विस्तार गर्दै सौर्य, वायु, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड तथा डिजिटल प्रविधिसहितको व्यापक हरित ऊर्जा क्षेत्रमा केन्द्रित गर्ने गरी आयोजना गर्न लागिएको हो । एक्स्पोले नेपालको स्वच्छ ऊर्जा क्षेत्रका नवप्रवर्तन, लगानी र साझेदारीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ ।
किन हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ ?
नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा करिब ४३०० मेगावाट विद्युत् उत्पादन क्षमता बराबरका आयोजना निर्माण सम्पन्न भइसकेका छन्, जसमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ । अहिले करिब ६,४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७,००० मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन् । यसले आगामी वर्षहरूमा नेपालको ऊर्जा उत्पादन क्षमता तीव्र रूपमा विस्तार हुने सम्भावना देखाएको छ ।
सरकारले आगामी १० वर्षमा विद्युत् जडित क्षमता ३०,००० मेगावाट पु¥याउने लक्ष्य अघि सारेको छ । यो लक्ष्य हासिल गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ । त्यसैले यो राष्ट्रिय लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा एक्स्पोलाई अघि बढाउन लागिएको छ ।
ऊर्जा क्षेत्रको तीव्र विस्तारसँगै जलवायु परिवर्तन र जलवायुजन्य विपद्को जोखिम पनि बढिरहेको छ । इलाम, संखुवासभा, लमजुङका बाढी तथा पहिरो हुँदै भर्खरको भोटेकोशी र त्रिशूली नदी बेसिनमा आएको महाप्रलयसम्मलाई विश्लेषण गरी सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकतालाई केन्द्रमा राखेर एक्स्पोमा जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनबारे बहस तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको छ ।
एक्स्पोले सिर्जना गर्ने अवसर
हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ ले जलविद्युतमा मात्र सीमित नभई सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसम्मको एकीकृत स्वच्छ ऊर्जा बजार निर्माण गर्ने अवसर प्रदान गर्नेछ ।
एक्स्पोमा ऊर्जा उत्पादक, आयोजना विकासकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, प्रविधि प्रदायक, उपकरण निर्माता, इन्जिनियरिङ तथा निर्माण कम्पनी, नीतिनिर्माता, नियामक, विश्वविद्यालय, अनुसन्धान संस्था, स्टार्टअप तथा विकास साझेदारबीच व्यावसायिक सम्पर्क, लगानी साझेदारी, प्रविधि हस्तान्तरण र ज्ञान आदानप्रदानका अवसर सिर्जना हुनेछन् ।
अन्तर्राष्ट्रिय कम्पनी तथा प्रतिनिधिमण्डलको सहभागिताले नेपाली ऊर्जा बजारमा नयाँ प्रविधि र लगानी भित्र्याउने, नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा नेपालको स्वच्छ ऊर्जा क्षेत्रलाई क्षेत्रीय संवाद, लगानी र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने अवसरसमेत प्रदान गर्नेछ । यसपटक एकीकृत हरित ऊर्जा बजारको अवधारणालाई अघि बढाउन लागिएको छ । यसको केन्द्रमा ऊर्जा उत्पादन विस्तारसँगै उत्थानशीलता, लगानी र नवप्रवर्तन रहनेछन् ।
बीटुबी बैठकदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म
एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ ।
एक्स्पोमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ । विद्यार्थी तथा नवप्रवर्तकहरूले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोको आकर्षणका रूपमा समावेश गरिनेछ ।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता एक्स्पोमा गराउन लागिएको छ । सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई एक्स्पोमा सहभागी हुनेछन ।
हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि इप्पानको सबैभन्दा ठूलो निजी क्षेत्रकेन्द्रित वार्षिक इभेन्टका रूपमा ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदैछ ।
समग्रमा ३०,००० मेगावाटको राष्ट्रिय लक्ष्य हासिल गर्ने यात्रामा आवश्यक लगानी, प्रविधि र साझेदारी विस्तार गर्नुका साथै जलवायुजन्य जोखिम सामना गर्न सक्ने सुरक्षित, दिगो र उत्थानशील ऊर्जा क्षेत्र निर्माणमा एक्स्पोले योगदान पु¥याउने विश्वास हामीले लिएका छौ ।
एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहने र तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । प्रदर्शनीका साथै ज्ञान, प्रविधि, लगानी र व्यवसायिक सम्पर्कलाई जोड्ने विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् ।

















