राष्ट्रपति चुनाव आउनु दुई वर्ष अघि नै सुरु भयाे ‘वॉर्मअप’, ट्रम्पपछि कसले गर्ला अमेरिकाको नेतृत्व ?
काठमाडाैं । वासिङ्टनमा गर्मीको प्रचण्ड राप अचानक स्विच थिचे झैं सेलाएर शरद् ऋतुको आगमनसँगै मौसम मात्र फेरिएको छैन, राजनीतिमा पनि एउटा नयाँ यामको सग्लो संकेत देखा परेको छ।
क्यालेन्डरले अहिले २०२६ देखाइरहेको छ। तर अमेरिकाको राजनीतिक माहोल भने अचानक २०२८ को राष्ट्रपतीय निर्वाचनतर्फ मोडिएको संकेत देखिन थालेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवाती महिनामा देखिएको तीव्र राजनीतिक उथलपुथलका कारण लामो समयसम्म निकै टाढाको सम्भावना जस्तो देखिएको २०२८ को राष्ट्रपतीय निर्वाचन अहिले भने अचानक जीवन्त बन्न थालेको छ।
सम्भावित डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारहरू आगामी मध्यावधि निर्वाचनको तयारीका क्रममा त्यस्ता राज्यहरूमा पुग्न थालेका छन्, जहाँ राष्ट्रपतीय निर्वाचनका प्रारम्भिक प्रतिस्पर्धा हुने गर्छन्।
उनीहरू प्रमुख नीतिगत मुद्दामा आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। केहीले खुलेरै ह्वाइट हाउस पुग्ने आकांक्षा देखाउन थालेका छन् भने केहीले सम्भावित उम्मेदवारीको ढोका खुलै राख्ने गरी सांकेतिक अभिव्यक्ति दिइरहेका छन्। कतिपयले भने आफूलाई उम्मेदवार बन्ने राजनीतिक ठाउँ मिल्छ कि मिल्दैन भनेरै परीक्षण गरिरहेका छन्।
राजनीतिक घडी चलिरहेको अनुभूति राष्ट्रपति ट्रम्प स्वयंमा पनि देखिएको छ।आफूले सत्ता स्थायी रूपमा नभई सीमित अवधिका लागि मात्र सम्हालिरहेको स्वीकार गर्न नचाहने ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानका आफ्ना विरोधीहरूलाई चेतावनी दिँदै भने, ‘म अझै साढे दुई वर्ष यहाँ हुनेछु।’
यो समयमा सम्भावित राष्ट्रपतीय उम्मेदवारहरू बढी सक्रिय र दृश्यमान हुनु सामान्य नै हो। मध्यावधि निर्वाचनले उम्मेदवारहरूलाई आफ्ना आधारभूत मतदाताहरूसँग जोडिने मौका दिन्छ। उनीहरूले आफ्ना नयाँ चुनावी भाषण र शैली परीक्षण गर्न, राजनीतिक माहौल नाप्न, प्रारम्भिक चुनावी संरचना तयार पार्न र अन्य स्थानीय उम्मेदवारहरूलाई सघाएर राजनीतिक गुन जमाउन पाउँछन्।
तर यसपटक २०२८ को चुनावी दौड पहिलेभन्दा बढी वास्तविक र नजिकको जस्तो देखिन थालेको छ। यसको एउटा कारण ट्रम्पको कमजोर बन्दै गएको राजनीतिक अवस्थाले ‘एउटा युगको अन्त्य हुँदैछ’ भन्ने अनुभूति गराउनु हो। अर्कोतर्फ डेमोक्रेटिक पार्टीले २०२४ को राष्ट्रपतीय निर्वाचनमा भएको पराजयको शोकबाट विस्तारै बाहिर निस्कन थालेको छ।
सन् २०२४ को त्यो अप्रत्याशित पराजय मंगलबार पनि उत्तिकै ताजा देखियो, जब अन्तिम समयमा डेमोक्र्याटिक उम्मेदवार बनेकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सेनेट उम्मेदवार अब्दुल अल-सयदको पक्षमा डेमोक्र्याटहरूलाई एकताबद्ध गर्न मिसिगन पुगिन्।
सन् २०२८ का लागि चर्चामा रहेकी डेमोक्र्याट नेतृ ह्यारिस मात्र होइनन्। न्युयोर्ककी प्रतिनिधि सभा सदस्य अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले प्रगतिशील अभियानलाई तीव्र बनाएकी छन्।
जर्जियाका सेनेटर जोन ओसफले पुनः निर्वाचित हुन बाँकी छँदै २०२८ को चर्चा बटुलिरहेका छन्। त्यसैगरी गभर्नरहरू जेबी प्रिट्जकर, एन्डी बेशियर र जोस शपिरो पनि राजनीतिक दाउपेचमा सक्रिय छन्।
रिपब्लिकन पार्टीतर्फ उपराष्ट्रपति जेडी भान्सको हरेक शब्द र हाउभाउलाई थप अर्थका साथ हेरिन थालेको छ। ट्रम्पकै छायामुनि रहेर सम्भावित राष्ट्रपतीय उम्मेदवारीको कठिन तयारी गरिरहेका भान्सलाई रिपब्लिकन पार्टीको सम्भावित अग्रणी दाबेदारका रूपमा हेरिएको छ।
अर्कातर्फ सेनेटर टेड क्रुज, सेनेटर र्यान्ड पोल लगायतका अन्य सम्भावित रिपब्लिकन उम्मेदवारहरू पनि खुला रूपमा उम्मेदवारीबारे सोचविचार गरिरहेका छन्।
यहाँसम्म कि ७४ वर्षीय लुइजियानाका सेनेटर जोन केनेडीले मंगलबार वासिङ्टन पोस्टमा प्रकाशित एक अन्तर्वार्तामा आफू सेनेटमा पुनः उठ्ने योजनामा नभए पनि यदि धेरै बेवकुफ वा अयोग्य मानिसहरू राष्ट्रपतिमा उठे भने आफू पनि मैदानमा उत्रिन सक्ने बताएका छन्।
यो राष्ट्रपतीय मौसमको त्यो सुरुवाती क्षण हो जहाँ असंख्य राजनीतिज्ञहरू ऐना अगाडि उभिएर ‘म किन हुन सक्दिनँ र?’ भन्दै आफैंलाई प्रश्न गरिरहेका छन्। अमेरिकी लोकतन्त्रको यो चुनौतीपूर्ण समयमा राष्ट्रपतीय चुनावी अभ्यास नजिकिनु एक हिसाबले आश्वस्त पार्ने विषय पनि हो।
सन् २०२८ मा दुवै दललाई के आवश्यक छ?
२०२८ को राष्ट्रपतीय निर्वाचनमा दुवै प्रमुख दलबाट नयाँ उम्मेदवार आउने भएकाले यसले अमेरिकी राजनीतिमा नयाँ युगको सुरुवात गर्ने सम्भावना छ।
रिपब्लिकन पार्टीबाट अन्ततः उम्मेदवार बन्ने व्यक्तिले ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ट्रम्पको राजनीतिक धारलाई निरन्तरता दिने कि पार्टीभित्र लामो समयदेखि निष्क्रिय रहेको परम्परागत रूढिवादी धारलाई पुनर्जीवित गर्ने भन्ने निर्णय गर्नुपर्नेछ।
अर्कातिर डेमोक्रेटिक पार्टीलाई भने प्रगतिशील र मध्यममार्गी दुवै पक्षलाई मिलाएर लैजान सक्ने नेताको खाँचो छ। ट्रम्प-विरोधी एजेन्डाले मध्यावधि चुनावमा काम गर्ला, तर जो बाइडेन राष्ट्रपति छँदा गुमेको जनविश्वासका कारण मतदाताहरू अझै पनि पार्टीप्रति असन्तुष्ट रहेको सर्वेक्षणहरूले देखाएका छन्।
मंगलबार ह्वाइट हाउसका सम्भावित उम्मेदवारबारेको चर्चाले थप गति पायो। त्यसको एउटा कारण न्यूयोर्क टाइम्समा प्रकाशित अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजको रोचक अन्तर्वार्ता थियो।
मध्यावधि निर्वाचनका क्रममा विभिन्न राज्यमा उनको सक्रियताले उनलाई बर्नी स्यान्डर्सले अघि बढाएको प्रगतिशील राजनीतिक आन्दोलनको उत्तराधिकारीका रूपमा स्थापित गरिरहेको छ। ट्रम्पकालीन राजनीतिलाई परिभाषित गर्ने चर्चित र सामाजिक सञ्जालमा भाइरल हुने क्षण सिर्जना गर्न उनी माहिर देखिएकी छन्।
चाँडै ३७ वर्ष पुग्न लागेकी ओकासियो–कोर्टेजले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै राष्ट्रपतीय उम्मेदवारीको आधार बन्न सक्ने कठिन र अमूर्त प्रश्नबारे आफू पनि सोचिरहेको बताइन्।
तर, पछिल्ला तीनमध्ये दुई डेमोक्र्याटिक उम्मेदवार महिला रहेको र दुवैले चुनाव हारेको सन्दर्भमा ओकासियो-कोर्टेजले आफ्नो सीमाबारे पनि प्रश्न उठाइन्। उनले थपिन्, ‘म एक महिला हुँ र संयोगले ल्याटिन अमेरिकी मूलकी पनि हुँ। मलाई लाग्छ यहाँ चुनाव जित्न सक्ने क्षमतालाई लिएर धेरै छलफलहरू हुनेछन्।’
कमला ह्यारिस यस्तै प्रश्नहरूको जीवन्त उदाहरण हुन्। उनले आफ्नो शरद्कालीन चुनावी यात्रा सन् २०२४ मा ट्रम्पसँग हारेका सातवटा ‘स्विङ स्टेट’ (निर्णायक राज्य) मध्ये एकबाट सुरु गरिन्। उनले पुनः राष्ट्रपतिमा उठ्ने वा नउठ्ने निर्णय गरिसकेकी भने छैनन्।
तर अन्य डेमोक्र्याटहरू, विशेष गरी केही गभर्नरहरू भने पहिले नै आफ्नो स्थिति बलियो बनाउँदैछन्।
यसैगरी, केन्टुकीका गभर्नर एन्डी बेशियरले मंगलबार “गो एन्ड डु लाइकवाइज: हाउ वि हिल अ ब्रोकल कन्ट्री” नामक नयाँ पुस्तक प्रकाशित गरे-जो राष्ट्रिय छवि बनाउन चाहने ग्रामीण क्षेत्रका नेताहरूको परम्परागत रणनीति हो।
इलिनोइका गभर्नर जेबी प्रिट्जकरले डेमोक्र्याटिक मतदाताहरूलाई आफू ट्रम्पको कडा सामना गर्न सक्छु भन्ने देखाएका छन्। आफू हाल पुनः निर्वाचनमा केन्द्रित रहेको उनले एक अन्तर्वार्तामा भनेका छन् ।
ट्रम्पका अर्का आलोचक एरिजोनाका सिनेटर मार्क केलीले पनि गत साता एट्लान्टिक फेस्टिभलमा सम्भावित राष्ट्रपतीय उम्मेदवारीबारे आफूले विचार गरिरहेको संकेत दिए।
ट्रम्पपछि रिपब्लिकन पार्टी कता जान्छ?
उपराष्ट्रपति भान्सलाई व्यापक रूपमा रिपब्लिकन दौडको प्रमुख दाबेदारका रूपमा हेरिएको छ भने रुबियोका तर्फबाट भने राष्ट्रपतिको दौडमा जाने स्पष्ट संकेत आएको छैन।
भान्स शुक्रबार रिपब्लिकनहरूको प्रारम्भिक राज्य आयोवा पुगे, जसले राष्ट्रपतीय अभियानका जोखिमहरूलाई उजागर गर्छ। भरपर्दो रिपब्लिकन गढ मानिने आयोवामा ट्रम्पको अलोकप्रियताका कारण सेनेट र गभर्नरका दौडहरू अप्रत्याशित रूपमा प्रतिस्पर्धात्मक बनेका छन्।
उपराष्ट्रपति भान्सको सन्तुलन मिलाउनुपर्ने बाध्यता र आफ्नै बलमा चुनाव जितेको कमजोर ट्र्याक रेकर्डले गर्दा नै अन्य उम्मेदवारहरू पछि हट्ने सम्भावना कम देखिन्छ।
सन् २०१६ को रिपब्लिकन प्राइमरीमा ट्रम्पपछिको दोस्रो स्थानमा रहेर ११ वटा राज्य जितेका पूर्वप्रत्याशी सेनेटर टेड क्रुज पुनः मैदानमा उत्रिन आतुर देखिन्छन्।
अन्य सम्भावित रिपब्लिकन उम्मेदवारहरूमा टेक्ससका गभर्नर ग्रेग एबोट, फ्लोरिडाका बाहिरिँदै गरेका गभर्नर तथा २०२४ का पराजित उम्मेदवार रोन डिसेन्टिस र फ्लोरिडाका सेनेटर रिक स्कट रहेका छन्।
आखिर २०१६ मा रिपब्लिकन पार्टीलाई आफ्नो नियन्त्रणमा लिनुअघि ट्रम्पलाई पनि धेरैले मजाककै पात्रका रूपमा हेरेका थिए। अहिले डेमोक्रेटिक पार्टीभित्र पनि त्यस्तै किसिमको लोकप्रियतावादी राजनीतिक परिवर्तनका लागि आधार तयार भएको देखिन्छ।
यद्यपी अहिले नै अमेरिकाको भावी राष्ट्रपतिको नाम सबैभन्दा ठूलो मुद्दा नहुन सक्छ, तर हालका लागि मध्यावधि चुनावको अन्तिम नतिजा र इरानसँगको युद्ध बढी महत्त्वपूर्ण रहेकाे यस क्षेत्रका जानकारहरू बताउँछन्।















