८ आश्विन २०८३, बिहिबार

सीलाई स्वागत गर्न आफैं विमानस्थल पुगे ट्रम्प: चिनियाँ राष्ट्रपतिले भने- हामी प्रतिस्पर्धी होइन, साझेदार बन्नुपर्छ



काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकाको राजकीय भ्रमणका क्रममा बुधबार दिउँसो जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा ओर्लिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका सीलाई स्वागत गर्न ट्रम्प दम्पती आफैं विमानस्थलको रनवेसम्मै पुगेका छन्।

कूटनीतिक रूपमा विरलै देखिने यस किसिमको ‘प्लेनसाइड वेलकम’ (विमानको सिँढी नजिकै पुगेर गर्ने स्वागत) ले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिएको संकेत गरेको छ।

राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले विमानस्थलमा न्यानो स्वागत गरे।

विमानस्थलमा सी दम्पतीलाई अमेरिकी बालबालिकाले फूलगुच्छा अर्पण गरे भने रातो कार्पेटको दुवै किनारमा उभिएका गार्ड अफ अनरले उनीहरूलाई सलामी अर्पण गरे।

उक्त भव्य स्वागत समारोहमा २१ वटा गन स्यालुट, दुवै देशका राष्ट्रियगान र अमेरिकी सेनाको विमानद्वारा विशेष फ्लाईओभर प्रदर्शन गरियो।

विमानस्थलमा लिखित मन्तव्य व्यक्त गर्दै राष्ट्रपति सीले चिनियाँ जनताको तर्फबाट अमेरिकी जनतालाई हार्दिक शुभकामना र अभिवादन प्रकट गरे।

सीले भने, “चीन र अमेरिका दुवै महान देश हुन्, र यहाँका जनता पनि महान छन्। लामो समयदेखि दुई देशका जनताबीच मैत्रीपूर्ण आदानप्रदान हुँदै आएको छ र हामीबीचका हितहरू गहिरो रूपमा जोडिएका छन्।”

उनले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्नेमा जोड दिए। ‘चिनियाँ राष्ट्रको महान पुनरुत्थान’ र ‘अमेरिकालाई फेरि महान बनाउने अभियान’ सँगसँगै अगाडि बढ्न सक्ने उल्लेख गर्दै उनले दुई देशले एक-अर्काको सफलतामा सघाउ पुर्‍याउन, र विश्वको कल्याणका लागि सहकार्य गर्नुपर्ने बताए।

गत मे महिनामा ट्रम्पको चीन भ्रमणका क्रममा भएका सहमतिहरूलाई स्मरण गर्दै सीले दुई देशबीचको सम्बन्धलाई रचनात्मक र रणनीतिक स्थिरतामा आधारित बनाउने सहमति भएको बताए। उनले विश्व परिदृश्य परिवर्तन भए पनि चीन र अमेरिकाबीचको शान्तिपूर्ण सहअस्तित्वको ऐतिहासिक तर्क, दुई देशका जनताबीचको सद्भाव र विश्व समुदायको अपेक्षामा कुनै फेरबदल नआएको स्पष्ट पारे।

भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र विश्वव्यापी मुद्दाहरूमा गहिराे छलफल हुने अपेक्षा गरिएको छ।