बाढी प्रभावितको सहयोगका लागि उबरले ल्यायो ‘राइड फर नेपाल’ अभियान, रेडक्रसलाई ५० लाख सहयोग गर्ने प्रतिवद्धता
काठमाडाैं। नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राईड फर नेपाल’ अभियान सुरु गरेको छ ।
२१ सेप्टेम्बरदेखि २० अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस अभियानमार्फत उबरले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ।
अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई रु. ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त सहयोग आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापना सम्बन्धी कार्यमा उपयोग गरिनेछ । यसका साथै, अभियान अवधिभर उबर प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत रु. १० तथा हरेक उबर क्याब यात्राबापत रु.२० उबरले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा योगदान गर्नेछ । यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने कुल सहयोग पनि त्यति नै बढ्दै जानेछ ।
‘राईड फर नेपाल’ अभियानले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग जोड्ने उद्देश्य राखेको छ । यात्रुले उबर एपमार्फत राइड बुक गर्दा तथा चालकले यात्रा स्वीकार गरी सफलतापूर्वक सम्पन्न गर्दा प्रत्येक योग्य यात्रासँगै उबरको तर्फबाट राहत कोषमा थप योगदान जोडिनेछ।
यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुने छैन । यात्रुले साविक अनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साविक अनुसारकै रकम प्राप्त गर्नेछन् । प्रत्येक योग्य सम्पन्न यात्राबापतको योगदान उबरले आफ्नै तर्फबाट अतिरिक्त रूपमा प्रदान गर्नेछ।
उबरका नेपालका लागि रणनीतिक साझेदार ट्याक्सीमाण्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसी ले विपद्को समयमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए।
उनले भने, ‘राइड फर नेपनल’ केवल एउटा अभियान मात्र होइन, विपद्को समयमा हामी सबै एकजुट भएर सहयोग गर्ने अवसर हो। यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि उबरको योगदान बढ्दै जानेछ । हाम्रो हरेक यात्रा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जोडिएको एउटा अर्थपूर्ण योगदान बनोस्।”
त्यसैगरी, आकांक्षा सिंह, हेड अफ इन्टरनेसनल मार्केटस्, उबर इन्डिया एण्ड साउथ एसियाले नेपालको राहत तथा पुनर्स्थापना प्रयासका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन्। उबर आफूले सेवा प्रदान गर्ने समुदायको अभिन्न हिस्सा भएकाले कम्पनीको जिम्मेवारी केवल मोबिलिटी सेवामा मात्र सीमित नरहेको उनले उल्लेख गरिन् । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान पुर्याउने उद्देश्य उबरले राखेको उनको भनाइ छ ।
उबरले सबै यात्रु तथा चालकलाई यस अभियानमा सहभागी भई बाढी प्रभावित समुदायको पुनर्निर्माणमा साथ दिन आग्रह गरेको छ ।















