जलप्रकोपको जोखिम : देशभर ६४९ स्थान जोखिमपूर्ण, ११ हजार बढी सशस्त्र प्रहरी परिचालन
काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार चार दिनसम्म वर्षाको गतिविधि बढ्ने अनुमान गरेपछि सुरक्षा निकायले सम्भावित विपद् रोकथाम तथा उद्धारका लागि देशभर तयारी तीव्र बनाएका छन्।
वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्रहरीले देशभरका ६ सय ४९ स्थानलाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरेको छ। ती स्थानमा आवश्यक परे तत्काल खोज तथा उद्धार गर्न सकिने गरी सुरक्षाकर्मी र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको हो।
बढी वर्षाको सम्भावना रहेको गण्डकी र लुम्बिनी प्रदेशमा विशेष निगरानी बढाइएको छ। नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट विपद् व्यवस्थापनको तालिम लिएका सुरक्षाकर्मीलाई थप जनशक्तिका रूपमा यी प्रदेशमा पठाइएको प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको हो।
नदी आसपासका बस्तीमा माइकिङ
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीमा माइकिङमार्फत स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रहरीका अनुसार बागमती प्रदेशअन्तर्गत रोशी, सुनकोशी, त्रिशूली र इन्द्रावती नदी आसपास तथा मधेश प्रदेशका बलान र बिहुल खोलाको तटीय क्षेत्रमा पूर्वसूचना प्रवाह भइरहेको छ। काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीमा समेत जोखिमबारे सर्वसाधारणलाई जानकारी गराउन थालिएको छ।
११ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन
सशस्त्र प्रहरी बलले सम्भावित विपद् प्रभावित क्षेत्रलाई लक्षित गर्दै ११ हजार ७६३ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
सशस्त्र प्रहरी प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार विपद् व्यवस्थापनमा दक्ष टोलीलाई जिल्ला विपद् व्यवस्थापन समितिको योजनाअनुसार जोखिमयुक्त क्षेत्रमा खटाइएको छ।
सम्भावित उद्धारलाई प्रभावकारी बनाउन ८२ वटा र्याफ्ट बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा राखिएका छन्। उद्धार सामग्रीसँगै तालिम प्राप्त गोताखोर र स्वास्थ्यकर्मीको टोलीलाई पनि आवश्यक स्थानमा परिचालन गरिएको छ।
ड्रोनमार्फत खोज तथा उद्धारको तयारी
जोखिमयुक्त क्षेत्रमा अवस्था अनुगमन तथा सम्भावित उद्धारका लागि ड्रोन प्रयोग गर्न सक्ने विशेष टोलीसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
मधेश प्रदेशमा मात्रै ७४ वटा सम्भावित जोखिम क्षेत्र पहिचान भएका छन्। कमला, चारनाथ, बलान र बिहुल खोलाका तटीय क्षेत्रलाई विशेष जोखिममा राखिएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा ५२ स्थानलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ।
नदी तथा खोलाको किनारमा दाउरा संकलन गर्ने वा अन्य कामका लागि जाने व्यक्तिलाई समेत बाढी र डुबानको सम्भावनाबारे जानकारी गराउँदै सावधानी अपनाउन आग्रह गरिएको छ।
असोज ११ गतेसम्म सुरक्षा तयारी सक्रिय रहने
मौसमको प्रभाव असोज ११ गतेसम्म सक्रिय रहन सक्ने अनुमानसँगै जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीको परिचालन पनि सोही अवधिसम्म निरन्तर राखिने सशस्त्र प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले पनि सम्भावित विपद्का घटनामा तत्काल प्रतिक्रिया दिन जनशक्ति, उद्धार सामग्री र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी जोखिमको अवस्था हेरेर सुरक्षा तथा उद्धारसम्बन्धी तयारी अघि बढाइएको छ।















