८ आश्विन २०८३, बिहिबार

विवेक अटोमोबाइल्सको व्यापारमा ठूलो धक्का: ५ अर्बबाट सिधै १ अर्बमा झर्‍यो व्यापार, नाफा पनि ऋणात्मक



काठमाडौं। पछिल्लो ४ वर्षयता एमभी दुगड समूहअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिको व्यापार खुम्चिँदै गएको छ।

बजारमा गाडी तथा उपकरणको सुस्त माग, बढ्दो लागत दबाब र किस्ताबन्दीमा बिक्री भएका सवारी साधनको किस्ता भुक्तानी नहुँदा गाडी जफत गर्नुपर्ने बाध्यताले गर्दा मौज्दात र सञ्चालन खर्च बढ्न गई कम्पनीको कारोबार खुम्चिँदै गएको हो।

कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२२ मा ५ अर्ब १२ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा आइपुग्दा खुम्चिएर १ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको छ। तीन वर्षको अवधिमा कम्पनीको सञ्चालन आम्दानी करिब ७९.१७ प्रतिशतले घटेको हो।

आर्थिक वर्ष २०२२ मा ५ अर्ब माथिको कारोबार गरेको कम्पनीले २०२३ मा १ अर्ब ७० करोड १० लाख र २०२४ मा १ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको मात्र कारोबार गरेको थियो।

यसरी व्यापार लगातार घट्दा यसको सिधा असर कम्पनीको सञ्चालन नाफामा परेको छ। आर्थिक वर्ष २०२२ मा २.६७ प्रतिशत र २०२३ मा २.९९ प्रतिशत रहेको कम्पनीको ब्याज, कर, ह्रासकट्टी र मूल्यह्रास कट्टा गर्नुअघिको सञ्चालन नाफा दुई वर्षयतादेखि ऋणात्मक बनेको छ।

सञ्चालन नाफा ऋणात्मक भए पनि गैर-सञ्चालन आम्दानीको सहयोगले गर्दा कम्पनीको खुद नाफा दर भने आर्थिक वर्ष २०२४ मा ०.२२ प्रतिशत र २०२५ मा ०.३३ प्रतिशत कायम भएको छ।

व्यापारमा आएको सुस्तताका कारण कम्पनीको ब्याज भुक्तानी क्षमतामा समेत ठूलो असर परेको छ, जसले गर्दा पछिल्ला दुई वर्षमा ब्याज कभरेज अनुपात ऋणात्मक रहन पुगेको छ। तर, गैर-सञ्चालन आम्दानीको टेवाका कारण ऋण सेवा कभरेज अनुपात भने आर्थिक वर्ष २०२४ को १.३२ गुणाबाट सुधार भई २०२५ मा १.४० गुणा पुगेको छ।

यसैगरी, नाफाबाट रकम सञ्चित हुँदै जाँदा कम्पनीको खुद सम्पत्ति आर्थिक वर्ष २०२४ को ६१ करोड ७० लाख रुपैयाँबाट सामान्य सुधार भई २०२५ मा ६२ करोड १० लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल ऋण र खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०२३ मा १.४८ गुणा र २०२४ मा १.६४ गुणा रहेकोमा २०२५ मा घटेर १.३१ गुणामा आएको छ।

अटोमोबाइल क्षेत्रको व्यवसायमा उच्च कार्यपुँजी आवश्यक पर्ने भएकाले कम्पनीको सञ्चालन अझै पनि भण्डारण र उधारो सुविधामै बढी निर्भर देखिन्छ। कम्पनीको मौज्दात राख्ने अवधि आर्थिक वर्ष २०२४ को १२३ दिनबाट घटेर २०२५ मा ९२ दिनमा झरेको छ भने सञ्चालन चक्र ६९० दिनबाट घटेर ६१४ दिनमा आएको छ।

यद्यपि, भगिनी संस्थामार्फत ग्राहकलाई उपलब्ध गराइएको वित्तीय सुविधाका कारण उठ्न बाँकी रकम संकलन गर्ने अवधि भने अझै पनि ५२४ दिनजस्तो उच्च विन्दुमै रहेको छ।

कम्पनीको यिनै वित्तीय अवस्था, सञ्चालन जोखिम र बजार प्रतिस्पर्धालगायतका पक्षहरूलाई मूल्यांकन गर्दै क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले विवेक अटोमोबाइल्सको १ अर्ब ३७ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ पुन: पुष्टि गरेको छ। जसअनुसार ४५ करोड ६७ लाख ५० हजार रुपैयाँको दीर्घकालीन बैंकिङ सुविधालाई ‘आइआरएन बिबि माइनस’ र ९२ करोड रुपैयाँको अल्पकालीन बैंकिङ सुविधालाई ‘आइआरएन ए फोर’ रेटिङ प्रदान गर्दै कम्पनीलाई ‘इस्युअर नट कोअपरेटिङ’ (जानकारी नदिने संस्था) श्रेणीबाट हटाएको छ।

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालि नेपालमा मुख्यतया जोन डियर  ब्रान्डका ट्र्याक्टरहरूको बिक्री, मर्मत सम्भार (सर्विस) तथा पार्टपुर्जाहरू उपलब्ध गराउनका लागि आधिकारिक डिलरको रूपमा कार्यरत छ।

यसका साथै कम्पनीसँग महिन्द्रा एन्ड महिन्द्रा का सवारी साधन, विकेटी टायर तथा टाटा हिताचीका हेभी इन्जिनियरिङ र निर्माण उपकरणहरूको वितरण अधिकार (डिस्ट्रिब्युटरसिप) पनि रहेको छ।

एमभी दुगड ग्रुपका अध्यक्ष विवेक दुगडको पूर्ण सेयर स्वामित्व रहेको कम्पनीले नेपालभरि आफ्ना सेवा र उत्पादनहरू सहज रूपमा पुर्‍याउन विभिन्न अटोमोबाइल तथा निर्माण उपकरण ब्रान्डहरूको मुख्य वितरकको रूपमा उपस्थिति जनाउँदै आएको छ।