९ आश्विन २०८३, शुक्रबार

लक्जरी बजार कब्जा गर्न लक्ष्यसहित भारत छिर्दै बीवाईडीको प्रिमियम ब्रान्ड ‘डेन्जा’, कस्तो छ फ्ल्यागसिप मोडल ‘डी ९’?



काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको प्रिमियम ब्रान्ड ‘डेन्जा’ भारत प्रवेशको अन्तिम तयारीमा पुगेको छ।

चालु वर्षभित्रै भारतीय बजारमा छिर्ने रणनीतिका साथ अघि बढेको डेन्जाले आफ्नो डिलर सञ्जाललाई लगभग अन्तिम रूप दिइसकेको छ। कम्पनीले त्यहाँका प्रमुख सहरहरूमा बिक्री तथा वितरणको कमान्ड स्थापित तथा अनुभवी डिलर समूहहरूलाई सुम्पिने भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार डेन्जाले मुम्बईका लागि ल्यान्डमार्क ग्रुप, बेंगलुरु र हैदराबादका लागि ईभीएम तथा चेन्नईका लागि केयुएन समूहलाई बिक्री साझेदारका रूपमा छनोट गरेको छ। त्यसैगरी, गुजरात-विशेषगरी अहमदाबाद क्षेत्रमा-कार्गो मोटर्सले डेन्जाको प्रतिनिधित्व गर्नेछ।

अर्कातर्फ, दिल्लीसहित आसपासका क्षेत्रहरू हरियाणा, उत्तर प्रदेश, राजस्थान र चण्डीगढमा पासी ग्रुपअन्तर्गतको कृष्णा अटोमोबाइल्सले डेन्जाको बिक्री तथा वितरण सम्हाल्ने निश्चित भएको छ। यी सबै व्यापारिक समूहहरू भारतमा बीवाईडीका विद्यमान डिलर साझेदार नै हुन्।

यद्यपि, डेन्जाको यो नयाँ डिलर सञ्जाल बीवाईडीको हालको खुद्रा (रिटेल) कारोबारभन्दा पूर्ण रूपमा अलग रहने बताइएको छ। बीवाईडीले भारतमा डेन्जालाई एक बेग्लै र उच्च तहको ‘प्रिमियम ब्रान्ड’का रूपमा स्थापित गर्ने रणनीति बनाएको छ। सोहीअनुरूप सुरुवाती चरणमा लक्जरी सवारी साधनको राम्रो माग रहेका प्रमुख सहरहरूमा सीमित तर सुदृढ डिलर सञ्जाल बनाउने तयारी भइरहेको छ।

भारतीय बजारमा डेन्जाको प्रवेशसँगै यसको पहिलो फ्ल्यागसिप मोडलका रूपमा बहुप्रतिक्षित ‘डेन्जा डी९’ भित्रिने सम्भावना प्रबल छ। भारतको ठूलो चाडपर्वको बिक्री सिजनलाई लक्षित गर्दै यसै वर्षको अन्त्यतिर यो गाडी सार्वजनिक गर्ने तयारी भइरहेको छ।

कस्तो गाडी हो डेन्जा डी ९, के-के छन् फिचर्स ?

डेन्जा डी९ लाई भारतमा ब्रान्डको मुख्य प्रवेश मोडलका रूपमा अघि सारिने भएको छ। यो प्रिमियम एमपीभीले भारतीय बजारमा पहिलेदेखि नै पकड जमाएका टोयोटा भेलफायर र लेक्सस एलएम जस्ता स्थापित मोडलहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

पछिल्लो समय एमजीको विद्युतीय एम ९ जस्ता नयाँ मोडलहरूले पनि भारतको लक्जरी एमपीभी बजारमा उपस्थिति जनाइसकेका छन्।

विशेष गरी अत्यन्तै विलासी र आरामदायी यात्रालाई ध्यानमा राखेर तयार पारिएको डेन्जा डी ९ पूर्ण इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गरी दुवै भेरियन्टमा उपलब्ध छ।

गाडीको भित्री सजावट र प्रिमियम फिचरका हिसाबले दोस्रो पंक्ति (सेकेन्ड रो) मा अटोमेसन सुविधासहितका लक्जरी ‘क्याप्टेन सिट’ राखिएका छन्। जसमा १०-पोइन्ट म्यासेज सुविधा, इलेक्ट्रोनिक लेग रेस्ट, र सिटमै जडान गरिएका टचस्क्रिन कन्ट्रोलर पाउन सकिन्छ।

यसबाहेक गाडीमा ठूलो प्यानोरामिक सनरुफ, १५.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, प्रिमियम अडियो सिस्टम, मल्टि-जोन क्लाइमेट कन्ट्रोल र साना फ्रिज/चिलर बक्स जस्ता सुविधाहरू समावेश छन्।

ब्याट्री, रेन्ज र कार्यक्षमताको कुरा गर्दा यसको इलेक्ट्रिक भेरियन्टमा १०३.३६ किलोवाट आवर क्षमताको बीवाईडीको प्रसिद्ध ‘ब्लेड ब्याट्री’ प्रयोग गरिएको छ, जसले एकपटकको पूर्ण चार्जमा ६०० किमीसम्मको दायरा (सीएलटीसी रेन्ज) दिन्छ। त्यस्तै, प्लग-इन हाइब्रिड भेरियन्टले पेट्रोल र ब्याट्रीको संयुक्त प्रयोगबाट १,००० किमीभन्दा बढीको रेन्ज प्रदान गर्छ।

सुरक्षा र उन्नत प्रविधिका हिसाबले डेन्जा डी९ मा ९ वटासम्म एयरब्याग, ३६०-डिग्री क्यामेरा र बीवाईडीको ‘डी पाइलट’ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) उपलब्ध गराइएको छ। जसअन्तर्गत एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, इमर्जेन्सी ब्रेकिङ, र ब्लाइन्ड स्पट मनिटरिङ जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पर्छन्।

चिनियाँ बजारमा डेन्जा डी९ को सुरुवाती मूल्य भेरियन्टअनुसार ३ लाख ९ हजार ८०० युआन देखि ४ हजार ५९ हजार ८०० युआनसम्म रहेको छ।

बीवाईडीको समग्र ब्रान्ड संरचनामा डेन्जालाई बीवाईडीका नियमित गाडीहरूभन्दा माथिल्लो र माथिल्लो वर्गलाई लक्षित गरिएको प्रिमियम ब्रान्डका रूपमा राखिएको छ। सोही कारण भारतमा पनि डेन्जाका लागि बीवाईडीभन्दा छुट्टै प्रिमियम शोरुम र बिक्री केन्द्र सञ्चालन गर्ने तयारी छ।

बीवाईडीले सन् २०२५ मा भारतमा करिब ६ हजार वटा विद्युतीय सवारी बिक्री गरेको थियो। कम्पनीले आउँदो वर्ष सन् २०२६ मा भारतमा दोहोरो अंकको बिक्री वृद्धिको लक्ष्य राखेको छ।