९ आश्विन २०८३, शुक्रबार

निरन्तरको वर्षाले नदीहरुमा पानीको बहाव बढ्यो, यी जिल्लामा छ आकस्मिक बाढीको जोखिम



काठमाडौं। देशका ठूला नदी तथा खोलानालामा पानीको सतह बढ्ने सम्भावना देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। केही जिल्लाका साना नदी र खोलामा भने अचानक बाढी आउन सक्ने जोखिमसमेत औंल्याइएको हो।

शुक्रबार बिहान सार्वजनिक गरिएको विशेष बाढी पूर्वानुमानअनुसार कोशी, नारायणी, बागमती, कन्काई र कमला नदी तथा तिनका सहायक नदीमा पानीको सतह सतर्कता तहको आसपास पुगेको छ। पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीलगायत नदीमा भने बहाव अहिले सतर्कता सीमाभन्दा तल रहेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार र शनिबार देशका अधिकांश प्रमुख नदीमा पानीको बहाव बढ्ने अनुमान गरेको छ। सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा शुक्रबार नै बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ।

नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा समेत पानीको बहाव बढ्ने सम्भावना रहेको छ। तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा शुक्रबार सामान्य वृद्धि भए पनि शनिबार भने बहाव उल्लेख्य रूपमा बढ्न सक्ने बताइएको छ।

साना नदी तथा खोलामा अचानक बाढी आउन सक्ने अवस्थालाई हेर्दा शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्ला बढी जोखिममा रहनेछन्।

गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर तथा आसपासका क्षेत्र भएर बग्ने साना नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने महाशाखाको अनुमान छ। यी क्षेत्रमा आकस्मिक बाढीको जोखिम उच्च रहेको जनाइएको छ।

त्यसैगरी ताप्लेजुङदेखि बैतडीसम्मका विभिन्न जिल्लाका साना नदीमा पनि अचानक बाढी आउने सम्भावना रहेको छ। ती क्षेत्रमा जोखिमको स्तर भने मध्यम रहने पूर्वानुमान गरिएको छ।

शनिबार असोज १० गते आकस्मिक बाढीको उच्च जोखिम अझ धेरै जिल्लामा देखिने महाशाखाले जनाएको छ। नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदी तथा खोलामा बाढीको जोखिम उच्च रहने अनुमान छ।

असोज ११ गते पनि सातै प्रदेशका केही साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने सम्भावना रहेको छ। यस्तो अवस्थामा नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन, पूर्वसूचना तथा मौसमसम्बन्धी जानकारी नियमित रूपमा हेर्न महाशाखाले अनुरोध गरेको छ।