९ आश्विन २०८३, शुक्रबार

प्रमुख राजमार्ग अवरुद्ध भएपछि काठमाडौंमै रोकिए सार्वजनिक सवारी



काठमाडौँ। लगातारको वर्षासँगै विभिन्न राजमार्गमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने सार्वजनिक यातायात प्रभावित भएको छ। देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी जोड्ने प्रमुख सडकमार्ग बन्द हुँदा धेरै सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्ग र बीपी राजमार्गका केही खण्डमा पहिरो खसेपछि यातायात सञ्चालनमा समस्या आएको हो। उनका अनुसार काठमाडौं–हेटौँडा आवतजावत गर्ने फर्पिङ सडक भने सञ्चालनमा रहेकाले साना सवारीसाधन चलिरहेका छन्।

बसपार्कमा सवारीको चाप

गोङ्गबुस्थित नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले बिहीबार साँझदेखि नै बसपार्कमा सार्वजनिक सवारीसाधनको चाप बढेको बताए। उनका अनुसार बाढी तथा पहिरोका कारण विभिन्न जिल्लाबाट काठमाडौं जोडिने सडक बन्द भएपछि लामो दूरीका अधिकांश सवारी काठमाडौंमै रोकिएका हुन्।

बिहीबार बिहानदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नदी करिडोरमा यात्रा नगर्न माइकिङमार्फत सचेत गराइरहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि चालक तथा व्यवसायीलाई मौसमको अवस्था र सडकको जोखिमबारे सचेत रहन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले पहिरोका कारण राजमार्ग जुनसुकै बेला अवरुद्ध हुन सक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न आग्रह गरे।

विभिन्न सरकारी तथा सम्बन्धित निकायले असोज ८ देखि १२ गतेसम्म देशका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन अपिल गरेका छन्।