ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, सोमबारबाट कार्यभार सम्हाल्दै
काठमाडौँ । नबिल बैंकको उच्च व्यवस्थापकीय पदबाट राजिनामा दिएका निरज शर्मा ईसेवाको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।
यसअघिका सीईओ जगदीश खड्काको कार्यकाल सकिएपछि ईसेवाले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो ।
पछिल्लो समय मोबाइल बैंकिङ र क्यूआर भुक्तानीको सिलसिला बढ्दा ईसेवाजस्ता वालेटको व्यावसायिक विस्तार कमजोर देखिएको थियो । अब त्यही कमजोरीलाई शक्तीमा बदल्ने जिम्मेवारी शर्माको काँधमा आएको छ ।
२०५६ साल जेठमा ओरियन्टल सहकारीबाट काम थालेका शर्मा २०५७ माघमा तत्कालिन नेपाल बंगलादेश बैंक (अहिले नबिलमा मिसिएको) मा प्रवेश गरेर औपचारिक बैंकिङ करियर सुरु गरेका थिए ।
त्यसको ७–८ महिना पछि नै हिमालयन बैंकमा पुगे । हिमालयनमा करीब साढे ७ वर्ष बिताउँदा उनी ‘कार्ड डिभिजन’को बरिष्ठ अधिकृत बनेका थिए । २०६४ माघमा उनी कार्ड डिभिजनै प्रबन्धक बनेर नबिल बैंक हाजिर भए ।
१८ वर्षभन्दा बढी समय नबिलमा बिताउँदा उनको १० पल्ट सरुवा–बढुवा भयो । नबिलमा पनि सुरुका १० वर्ष उनले कार्ड डिभिजनमै काम गरे । त्यसपछि रेमिट्यान्स र ब्याङ्कासुरेन्स हेर्ने गरी खुद्रा बैंकिङ व्यवसायको नेतृत्व गरे ।
कोभीड भाइरसले संसारलाई आक्रमण गर्दा उनी गण्डकीको प्रदेश प्रबन्धक थिए । त्यसपछि उनको जीवनमा परिवर्तनको रफ्तार मौलायो । उनी डिजिटल बैंकिङको हेड बने । त्यसपछि अपरेशन चिफ बने । फेरी प्रमुख सञ्चालन अधिकृतमा बढुवा भयो ।
आजभन्दा ५ वर्षअघि उनी नबिल बैंकको सीओओ थिए । त्यसपछि उनी बैंकका नीति निर्माण तथा रणनीतिक योजना गर्ने विभागीय प्रमुख बने । अनि फेरि ‘चिफ अल्टरनेटिभ च्यानल सेल’ बने । यस्तो वैकल्पिक बैंकिङको हाकिम भएपछि उनी ‘चिफ मार्केटिङ अफिसर’ बने ।
गत जेठदेखि उनी ‘ट्रान्जेक्सनल बैंकिङ’ र ‘एन–बैंक’ अर्थात् नबिलको डिजिटल बैंकिङ प्लेटफर्म दुबै हेर्ने गरी ‘चिफ विजनेश अफिसर’ थिए ।
अब उनी आफ्नो २६ वर्षभन्दा लामो बैंकिङ करियरको जगमा आधुनिक भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाको प्रमुख बन्दै छन् ।
सेन्ट जेभियर्सबाट प्रवेशिका उत्तिर्ण गरेका शर्मा वाणिज्य शास्त्रका विद्यार्थी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह र दिल्ली विश्वविद्यालयबाट स्नातक उत्तिर्ण गरेका छन् । स्नातकोत्तर (एमबीए) भने उनले काठमाडौँ विश्वविद्यालयमा पढेका थिए ।
यसका अलावा उनले हार्वर्ड विजनेश स्कूलबाट ‘डिसरप्टिभ स्ट्राजेटी’ तालिम लिएका छन् भने करियरसँग सम्बन्धित कयौँ तालिम, गोष्ठी र सेमिनारमा हिस्सेदारी लिएका छन् । डिजिटल रुपान्तरण र नवप्रवर्तनका सम्बन्धमा उनले नबिल बैंक भित्र र बाहिर बसेर थुप्रै काम गरेका छन् ।
यसका साथै सम्पत्ति शुद्धिकरण, साइबर सुरक्षादेखि कार्ड प्रणाली र भुक्तानी प्रणालीसम्म कयौँ व्यावसायिक तालिम, अभ्यास र कार्यशालाहरुमा उनले आफ्नो जीवनका कयौँ घण्टा गुजारेका छन् ।
भदौ ५ गते नबिल बैंक छाडेका शर्मालाई ईसेवा सञ्चालक समितिले नयाँ सीईओको रुपमा नियुक्ति दिएर देशकै पहिलो डिजिटल भुक्तानी वालेटलाई अब नयाँ उचाईमा पुर्याउने जिम्मेवारी सुम्पिएको छ ।
आगामी सोमबारदेखि सुरु हुने उनको कार्यकालले ईसेवालाईमात्रै होइन, नेपालको समग्र वालेट बजार र भुक्तानी सेवालाई कसरी अघि बढाउँछ भन्ने कुरामा एक–एक इँटा थप्दै जाने विस्वास कम्पनीका सञ्चालकहरुको छ ।















