९ आश्विन २०८३, शुक्रबार

एनसीएचएलद्वारा इएफटि कार्ड सर्भिसेस् सदस्य बैंकहरूसँग अन्तरक्रिया, थप ७ संस्था आवद्ध



काठमाडौं। एनसीएचएलले आफ्ना इएफटि कार्ड सर्भिसेस्का सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा २२ वटा बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रतिनिधिहरुबीच आपसी सम्बन्धलाई थप सुदृढ बनाउने, सेवाको सञ्चालन सम्बन्धी आवश्यकताबारे अद्यावधिक जानकारी आदानप्रदान गर्ने, नयाँ पहलहरूबारे छलफल गर्ने तथा इएफटि सर्भिसेस् सम्बन्धी सदस्यका सुझाव तथा प्रतिक्रियाहरू संकलन गर्ने विषयमा छलफल भएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा सदस्य बैंक तथा वित्तीय संस्था र एनसीएचएलले ग्राहकका अपेक्षा, प्रविधिको विकास तथा सञ्चालनसम्बन्धी आवश्यकताका विषयमा विचार, सुझाव तथा अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा कार्ड भुक्तानीको सुरक्षा सुदृढीकरण, सञ्चालनसम्बन्धी विषय तथा नवीनतम पहलहरुको विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा इएफटि कार्डका सेवा विस्तार गर्ने क्रममा थप २ वटा वाणिज्य बैंक र ५ वटा वित्त कम्पनी नयाँ सदस्यका रूपमा आबद्ध भएको जानकारी गराई स्वागत गरिएको थियो । यससँगै एनसीएचएलको इएफटि कार्ड स्वीचमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको संख्या १७ पुगेको छ भने ६ वटा बैंक तथा वित्तीय संस्थाहरुले ई–कर्मश पेमेन्ट गेटवे सेवा र १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले थ्री डी सेक्योर एसीएस सेवा प्रयोग गर्दै आइरहेका छन् ।

इएफटि कार्ड सर्भिसेस् एनसीएचएकाले बैंक तथा वित्तीय संस्थाहरुका लागि उपलब्ध गराइएको सेन्ट्रल स्वीचिङ्ग सोलुशन हो, जसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमहरुको कारोबारहरु प्रोसेसिङ्ग, कार्ड इस्यूइङ्ग तथा एक्वायरिङ्ग गर्दछ । हाल इएफटिबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले भिसा र नेपालपे कार्डहरु इस्यूइङ्ग गर्न सक्छन् भने भिसा, मास्टरकार्ड, युनियनपे, डाइनर्स क्लब, डिस्कभर, पल्स, रुपे, नेपालपे लगायत ८ प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कको कार्ड कारोबार एक्वायरिङ्ग गर्ने सुविधा इएफटिमा उपलब्ध रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ मा नेपालमा रु. १०.१९ खर्बको कारोबार मूल्य बराबर करिब १२ करोड ९० लाख कारोबारहरु कार्डबाट भएका थिए भने १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेका थिए । सो अवधिमा इएफटि मार्फत रु. २५५ अर्बको कारोबार मूल्य बराबरको ३ करोड २० लाख कारोबार भएका थिए भने ३४ लाख ४० हजार कार्ड प्रचलनमा रहेका थिए ।

गत आर्थिक वर्षमा इएफटिले नेपाली बजारको करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो । इएफटिको थ्री डी सेक्योर एसीएस सेवा एक अनलाइन कार्ड कारोबारको सुरक्षाका लागि प्रयोग गरिने सक्यूरिटी हो । त्यस्तै ई–कर्मश पेमेन्ट गेटवेले सहभागी बैंक तथा वित्तीय संस्थाका अनलाइन मर्चेन्टहरूलाई कार्डमार्फत भुक्तानी प्राप्त गर्ने सेवा उपलब्ध गराउदँछ । हाल यस सेवा ६ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेका छन् भने यसमा ११५ भन्दा बढी मर्चेन्टहरू आवद्ध भइसकेका छन् ।

नेपालको भुक्तानी पूर्वाधारलाई थप सुदृढ गर्दै यसको प्रयोगलाई विस्तार गर्ने आफ्नो भिजन अनुरूप एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीको एक अभिन्न अंगका रूपमा नेपालपे कार्डलाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको छ । इएफटि कार्ड स्वीच पनि एनपीएसमा इन्टिग्रेट गरी यसले नेपालपे कार्ड इस्यू र एक्वायरिङ्ग पनि गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले सहभागी बैंक तथा वित्तीय संस्थालाई विद्यमान पूर्वाधारको उपयोग गर्दै नेपालपे कार्ड इस्यू र एक्वायरिङ्ग गर्ने सुविधा प्रदान गरेको छ ।

एनसीएचएलले आगामी दिनमा पनि बैंक तथा वित्तीय संस्थाहरु, इकोसिस्टम साझेदार तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कहरूसँग सहकार्यलाई निरन्तरता दिँदै कार्ड भुक्तानीसम्बन्धी क्षमता विस्तार, अन्तरआवद्वतालाई सुदृढीकरण तथा सुरक्षित बनाउनुका साथै नवीनतम भुक्तानी समाधानहरूको प्रवद्र्धनमा थप योगदान पु¥याउने कार्यलाई जारी नै राख्नेछ ।