१ कार्तिक २०८३, आइतबार

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु



काठमाडौँ। अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङको निसीखोला गाउँपालिका–३ मा एकै परिवारका चार जनाको ज्यान गएको छ।

पहिरोमा पुरिएर श्यामकुमारी विकसहित उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार पहिरोले घर पूर्णरूपमा पुरिएपछि घटनास्थलमा खोजी तथा उद्धारको काम थालिएको थियो। उद्धार टोलीले केही समयअघि तीन जनाको शव बाहिर निकालेको जनाएको छ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर उद्धार कार्य जारी राखेका छन्। निरन्तर भइरहेको वर्षाका कारण जिल्लाका पहाडी तथा जोखिमयुक्त क्षेत्रमा पहिरोको सम्भावना बढेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।

पर्वतमा २५ घर बगे

यसैबीच पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको पानी पसेपछि ठूलो क्षति भएको छ। नदीको बहाव बढेर बस्तीमा प्रवेश गर्दा २५ वटा घर बगेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजेतिर नदीको पानी बस्तीमा पसेको थियो। बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर नदीले बगाएको र अन्य घरहरू समेत जोखिममा रहेको जनाइएको छ।

घटनामा अहिलेसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। घटनाको क्षति तथा अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।