बाढी-पहिरोले क्षतविक्षत विद्युत् संरचना, एक महिनामै ८५० मेगावाट उत्पादन बन्द
काठमाडौं । लगातारको वर्षापछि आएको बाढीपहिरोले देशको विद्युत् क्षेत्रमा ठूलो धक्का पुगेको छ। बाढीपहिरोका कारण विभिन्न ठाउँका जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुग्दा अहिले करिब ८५० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपहिरोका कारण २३ वटा जलविद्युत् आयोजनाको उत्पादन रोकिएको छ। यसअघि एक महिनाअघि भोटेकोशी नदीमा आएको बाढीबाट मात्रै ४१३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनबाट बाहिरिएको थियो।
बाढीको असर कालीगण्डकी, मादी, मर्स्याङ्दी, दोर्दी, सेतीलगायतका क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा परेको छ। १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी र ६९ मेगावाटको मर्स्याङ्दीको उत्पादन प्रभावित भएको छ।
क्षति जलविद्युत् आयोजना मात्रैमा सीमित छैन। बाढीपहिरोले २२० केभीदेखि ११ केभीसम्मका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुर्याएको छ।
विशेषगरी कालीगण्डकी करिडोरको दाना–कुश्मा खण्डमा ठूलो असर परेको छ। म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि त्यस क्षेत्रमा उत्पादित बिजुली प्रसारण गर्न समस्या भएको छ।
प्रसारण लाइनमा आएको यही समस्याका कारण निलगिरि–१, निलगिरि–२, मिस्त्री खोला, घार खोला, थापा खोला, लेले खोला, घलेम्दी, अपर राहुघाट, राहुघाट मङ्गले, माथिल्लो ठूलोखोला, ठूलोखोला र राहुघाटलगायत १२ वटा आयोजनाको उत्पादन बन्द भएको छ।
त्यस्तै, कालीगण्डकी करिडोरकै कुश्मा–नयाँ बुटवल खण्डमा पनि समस्या आएको छ। त्यसबाट मात्रै करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ।
बाढीपहिरोको असर विद्युत् आपूर्तिमा पनि देखिएको छ। म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
प्राधिकरणले क्षतिको प्रारम्भिक विवरण संकलनसँगै विद्युत् आपूर्ति रोकिएका क्षेत्र पहिचान गरेर वैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्ने काम अघि बढाएको छ। क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न प्राविधिक तथा मर्मत टोलीसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

















