११ आश्विन २०८३, आइतबार

चार दिनको झरीपछि पोखरा–काठमाडौँमा लाग्यो घाम, जनजीवन सहज बन्दै



चार दिनको अविरल वर्षाले गण्डकी र काठमाडौँको जनजीवन प्रभावित बनाएपछि आइतबारदेखि मौसममा सुधार आएको छ, जसले पोखराको आकाश खुल्दा हिमालको दृश्य अझ मनमोहक बनेको छ।

काठमाडाैँ । गत असोज ८ गतेदेखि लगातार झरी पर्दा प्रभावित बनेको गण्डकी प्रदेश र राजधानी काठमाडौँको मौसममा चार दिनपछि सुधार आएको छ।

लामो समयको वर्षाले रोकिएको जनजीवन अब सामान्य बन्दै गएको छ भने पोखराको आकाश खुलेर हिमालको दृश्यावलोकन गर्न सकिने भएपछि पर्यटक तथा स्थानीय खुसी भएका छन्।

लगातारको वर्षाका कारण गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ र मनाङलगायतका हिमाली तथा उच्च पहाडी जिल्लामा भौतिक क्षति र यातायात आवागमनमा अवरोध पुगेको थियो। मौसम बिग्रिएपछि हिमाली क्षेत्रमा हुने पदयात्रा पूर्ण रूपमा रोकिएको थियो।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले पदयात्राका क्रममा जोखिमपूर्ण क्षेत्रमा रहेका पर्यटकहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सारेका कारण ठूलो मानवीय क्षति भने टरेको छ।

कास्कीमा चार दिनदेखि जारी वर्षा रोकिएसँगै आइतबार बिहानैदेखि पोखराको आकाश पूर्ण रूपमा खुलेको छ। आकाश खुलेसँगै माछापुच्छ्रे र अन्नपूर्णलगायतका हिमशृङ्खलाहरू टलक्क टल्केको दृश्य स्पष्ट देखिन थालेको छ। लामो समयको वर्षापछि पोखरामा घाम लागेसँगै बजारको रौनक पनि फर्किएको छ।

यसबीच, सेती नदीमा बढेको पानीको बहावका कारण रामघाट लगायतका तटीय क्षेत्रमा केही स्थानमा पानी जमे पनि अहिले स्थिति सामान्य बन्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कास्की क्षेत्रमा यस पटक मध्यम प्रकारको वर्षाको प्रक्षेपण गरिएको थियो। विभागको अनुमान अनुरूप नै बिहानको केही समय वर्षा भए पनि त्यसपछि मौसम क्रमिक रूपमा सुधारिएको छ।

दिन घमाइलो बन्दै गएकाले अब वर्षा थामिने र मौसम पूर्ण रूपमा सफा हुने संकेत देखिएको छ। मौसममा आएको यो परिवर्तनसँगै रोकिएका यातायात सेवा र पदमार्गहरू खुलाउने तयारी भइरहेको छ।