उर्लियो नारायणी : पानीको सतह अहिलेसम्मकै उच्च तहमा पुग्दा दर्जनौँ बस्ती डुबानमा
काठमाडौँ। नारायणी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने नारायणी पुलमा ठूला सवारीसाधनको आवतजावत रोकिएको छ। नदीको सतह बढ्दै गएपछि सुरक्षाका कारण प्रहरीले यस्तो व्यवस्था गरेको हो।
देवघाटस्थित जलमापन केन्द्रका अनुसार दिउँसो १:५० बजे नदीको पानीको सतह ११.९१ मिटर पुगेको थियो। जलस्तर अझै बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ। उक्त केन्द्रले ७.३ मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तहका रूपमा निर्धारण गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार अहिले पुलमा मोटरसाइकलबाहेक अन्य सवारीसाधनलाई आवतजावत गर्न दिइएको छैन। पुल पुरानो हुनुका साथै पानीको बहावका कारण पुल अत्यधिक हल्लिन थालेपछि थप जोखिम हुन नदिन यातायात नियन्त्रण गरिएको उनले बताए।
सुरक्षालाई ध्यानमा राख्दै पुलमा सवारीसाधन रोकेर पैदलयात्रीलाई फोटो तथा भिडियो खिच्नसमेत रोक लगाइएको छ। नवलपुरबाट चितवनतर्फ जाने मोटरसाइकलबाहेकका सवारीसाधन गैँडाकोटमै रोकिएका छन् भने चितवनबाट नवलपुरतर्फ जाने सवारीसाधन नारायणघाटमा रोकिएका छन्।
नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि मात्रै सबै प्रकारका सवारीसाधनलाई पुलबाट सञ्चालन गर्न दिने प्रहरीको भनाइ छ।
यसैबीच, नारायणी नदीको जलस्तर निरन्तर बढेपछि गैँडाकोट, कावासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत नदी किनारका केही बस्तीमा डुबानको अवस्था देखिएको छ।

















