६३ वर्षयताकाे रेकर्ड तोड्दै नारायणीमा भयानक बाढी, नारायणगढ बजारसम्मै पस्यो पानी
नारायणी नदीमा ६३ वर्षयताकै उच्च बाढी रेकर्ड भएपछि नारायणगढ बजार जलमग्न बनेको छ भने तटीय क्षेत्रबाट सयौँ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
काठमाडाैँ । चितवनको जनजीवनलाई त्रसित बनाउँदै नारायणी नदीमा पछिल्लो ६ दशकभन्दा बढी समययताकै उच्च बाढी रेकर्ड गरिएको छ। नदीमा पानीको सतह अत्यधिक बढेपछि नारायणगढ बजार क्षेत्र नै जलमग्न हुन पुगेको छ भने तटीय क्षेत्रका बासिन्दाहरूले घर छाडेर भाग्न बाध्य हुनुपरेको छ।
देवघाटस्थित जलमापन केन्द्रमा नदीको सतह ११ दशमलव ९४ मिटरसम्म पुगेपछि स्थिति नियन्त्रणबाहिर गएको हो। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहानैदेखि उच्च सतर्कता अपनाउन विशेष बुलेटिन जारी गरेको थियो।
महाशाखाले सतह १३ मिटरसम्म पुग्न सक्ने आकलन गरेको थियो। यद्यपि, सतह त्योभन्दा केही कम रहे पनि सन् १९६३ मा यो केन्द्र स्थापना भएयताकै यो सबैभन्दा ठूलो बाढी हो। यसअघि २०८१ असोज १२ मा नारायणीमा ११ दशमलव ६ मिटरको सतह पुगेको रेकर्ड थियो।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख सुमित अधिकारीका अनुसार बिहान ५ बजेर ४० मिनेटमै खतराको तह पार गरेको नदीको सतह दिउँसो २ बजेर ३५ मिनेटमा आफ्नो चरम विन्दुमा पुगेको थियो। सामान्यतया ७ दशमलव ३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिने यो नदीमा यस पटक रेकर्ड नै तोडिएको छ। दिउँसो ४ बजेपछि मात्रै पानीको सतह घट्ने क्रम सुरु भएको थियो।
सडकसम्मै पुग्यो बाढी, जनजीवन प्रभावित
नदीको उग्र रूपले तटबन्धहरूलाई कमजोर बनाउँदै बस्तीतर्फ पानी छिराएपछि चितवनमा ठूलो जनधनको क्षति टरे पनि त्रास भने कायम छ। बाढीको सतह बढेसँगै भरतपुर महानगरपालिका–१ लिलाचोकदेखि उत्तरतर्फ नारायणी किनारका ससाना घरहरू जलमग्न भएका छन्। पानी घरहरू मात्र होइन, छेउको कालोपत्रे सडकसम्मै आइपुगेको थियो।
स्थानीय बासिन्दाहरूले आफ्नो जीवनकालमा यस्तो दृश्य कहिल्यै देखेका थिएनन्। २०२२ सालदेखि लिलाचोकमा बस्दै आएका ९४ वर्षीय बाबुराम जोशीले आफ्नो लामाे बसाइका क्रममा नारायणीको बाढी यसरी सडकसम्मै आएको पहिलोपटक देखेको बताए।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले तत्कालै उद्धार तथा सतर्कताका कार्यक्रम अगाडि बढाएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भद्रभूषण यादवका अनुसार नारायणी र यसका सहायक नदीहरूमा आएको बाढीका कारण प्रभावित भएका कुल २२७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
भरतपुर–१ नारायणी किनारका मात्रै ३५ परिवार घर छाडेर अन्यत्रै आश्रय लिन पुगेका छन्। त्यस्तै, प्रसिद्ध धार्मिक क्षेत्र देवघाटसमेत बाढीको चपेटामा परेको छ। त्यहाँ रहेका दुईवटा कुटी र तीनवटा पसलहरूमा बाढीले क्षति पुर्याएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियताले ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ।

















