विद्युतीय भ्यानको व्यापारमा मन्दी: फ्युचर मोटर्सको व्यापार १८ प्रतिशतले घटेर साढे १ अर्बमा खुम्चियाे
काठमाडौँ। सञ्चालनमा आएको छोटो अवधिमै तीव्र गतिमा कारोबार बढाएको फ्युचर मोटर्स प्रालिको व्यापार आर्थिक वर्ष २०२६ मा भने केही ओरालो लागेको छ।
विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका ११-सिटर, १४-सिटर र १६-सिटर क्षमताका विद्युतीय प्यासेन्जर भ्यानहरूको बिक्री, वितरण तथा मर्मत-सम्भार गर्दै आएको कम्पनीकाे कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०२३ मा २१ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा ह्वात्तै बढेर १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ पुगेको थियो।
तर दर्ता प्रक्रियामा आएको अवरोधका कारण आर्थिक वर्ष २०२६ मा भने कम्पनीको सञ्चालन आम्दानी करिब १८ प्रतिशतले घटेर १ अर्ब ५९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ।
सवारी साधन यातायात व्यवस्था विभागले २०८३ जेठ ८ देखि देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाएपछि कम्पनीको सवारी साधन बिक्रीमा असर पर्न गई कारोबार खुम्चिन पुगेको हो। करिब चार महिनासम्म रोकिएको सो दर्ता प्रक्रिया भदौमा पुनः खोलिएकाले यस वर्षको कारोबारमा केही प्रभाव पर्न गएको इन्फोमेरिक्स नेपालको प्रतिवेदनले देखाएको छ।
यसअघि सीजी मोटर्सको बलियो वितरक सहयोग र नेपालमा विद्युतीय सार्वजनिक तथा व्यावसायिक सवारीको बढ्दो मागका कारण कम्पनीले दुई वर्षको अवधिमा कारोबारमा उच्च वृद्धि हासिल गरेको थियो।
कारोबार घटे पनि कम्पनीको नाफा दर भने विगत दुई वर्षदेखि स्थिरप्रायः छ। आर्थिक वर्ष २०२४ मा १.९९ प्रतिशत र २०२५ मा २.९४ प्रतिशत रहेको कम्पनीको ब्याज, कर, ह्रासकट्टी र मूल्यह्रास कट्टा गर्नुअघिको सञ्चालन नाफा २०२६ मा २.७५ प्रतिशत कायम भएको छ। यद्यपि, उच्च कारोबारका बाबजुद सञ्चालन नाफा दर साघुँरो रहेकाले कम्पनीको खुद नगद सञ्चितीकरण सीमित रहने गरेको छ।
सञ्चालन खर्च वा लागतमा सामान्य वृद्धि हुँदा पनि नाफामा प्रत्यक्ष असर पर्न सक्ने जोखिम रहे तापनि कम्पनीको खुद नाफा दर आर्थिक वर्ष २०२५ मा १.४३ प्रतिशत र २०२६ मा १.३४ प्रतिशत रहेको छ।
व्यापारमा केही मन्दी आए पनि वित्तीय दायित्व र ब्याज भुक्तानी क्षमतामा भने कम्पनी मजबुत देखिएको छ। आर्थिक वर्ष २०२३ मा ऋणात्मक रहेको ब्याज कभरेज अनुपात सुधार भई २०२५ मा ९.२२ गुणा र २०२६ मा ८.७० गुणा पुगेको छ। यस्तै, ऋण सेवा कभरेज अनुपात आर्थिक वर्ष २०२६ मा ४.२७ गुणाको सहज अवस्थामा रहेको छ।
कम्पनीले आफ्नो पुँजीगत ढाँचालाई कम जोखिमयुक्त बनाएको छ। खुद सम्पत्तिको तुलनामा कुल बाह्य दायित्वको अनुपात आर्थिक वर्ष २०२३ मा १०.९७ गुणा रहेकोमा २०२६ सम्म आइपुग्दा उल्लेख्य सुधार भई ३.९८ गुणामा झरेको छ। यस्तै, कुल ऋण र खुद सम्पत्तिको अनुपात २०८३ असार मसान्तसम्म ०.६९ गुणा कायम भएको छ।
विद्युतीय सवारी साधनको बजारमा तीव्र प्रतिस्पर्धा रहेकाले कम्पनीले कार्यपुँजी र भण्डारण व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ। कम्पनीको चालु अनुपात आर्थिक वर्ष २०२५ को १.०६ गुणाबाट सामान्य सुधार भई २०२६ मा १.१५ गुणा पुगेको छ।
कम्पनीको यिनै वित्तीय अवस्था, सञ्चालन जोखिम र बजार प्रतिस्पर्धालगायतका पक्षहरूलाई मूल्यांकन गर्दै क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले फ्युचर मोटर्सको ८० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि रेटिङ पुन: पुष्टि गर्दै ‘आइआरएन ए फोर’ रेटिङ प्रदान गरेको छ। जसअन्तर्गत १५ करोड रुपैयाँको अल्पकालीन कार्यपुँजी र ६८ करोड ५० लाख रुपैयाँ बराबरको गैर-कोषमा आधारित प्रतितपत्र सुविधा रहेका छन्।
फ्युचर मोटर्स प्रालि सन् २०२२ मार्च १६ मा स्थापना भई आर्थिक वर्ष २०२३ देखि व्यावसायिक सञ्चालनमा आएको कम्पनी हो। कम्पनी मुख्य गरी ११ सिटर, १४ सिटर र १६ सिटर क्षमताका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यानहरूको बिक्री तथा मर्मत सम्भारका साथै आधिकारिक वितरकको रूपमा कार्यरत छ।














