एबीपी इनर्जीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौँ। नेपालको जलस्रोतको दिगो तथा प्रभावकारी उपयोग गर्दै स्वच्छ ऊर्जा उत्पादन गर्ने उद्देश्यका साथ जलविद्युत् आयोजनाहरूको विकास तथा व्यवस्थापनमा कार्य गर्दै आएको एबीपी इनर्जी लिमिटेड र मर्चेन्ट बैंकिङ संस्था सिद्धार्थ क्यापिटल लिमिटेडबीच एबीपी इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी सम्झौता छ।
असोज ८ गते सम्पन्न भएको सम्झौतामा एबीपी इनर्जी लिमिटेडका अध्यक्ष पुर्ण लाल श्रेष्ठ तथा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतासँगै एबीपी इनर्जी लिमिटेडको प्रस्तावित आईपीओ निष्कासन तथा व्यवस्थापन सम्बन्धी प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायबाट प्राप्त हुने स्वीकृति अनुसार अघि बढाइने छ र सो कार्यका लागि सिद्धार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ।
कम्पनीको संचालक समूहमा नेपालको जलविद्युत् क्षेत्रमा लामो समयदेखि हासिल गरेको व्यावसायिक अनुभव तथा आयोजना विकास सम्बन्धी ज्ञान भएका पूर्णलाल श्रेष्ठ र बलराम खतिवडाका साथै नेपाली प्राविधिक उद्यमी, एफ.वान. सफ्ट इन्टरनेशनलर इसेवाका संस्थापक अज्गर अली रहेका छन।
कम्पनीले विकास गरिरहेको प्रमुख आयोजना ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना हो । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका – १ घ्याङफेदी क्षेत्रमा अवस्थित उक्त आयोजना तादी खोलाको जलस्रोत उपयोग गरी विद्युत् उत्पादन गर्ने रन–अफ–रिभर प्रकृतिको जलविद्युत् आयोजना हो।
यो जलविद्युत आयोजनाको प्रति मेगावाट लागत २० करोड ५० लाख रुपियाँ रहेको छ । आयोजनाबाट २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ।
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडले ऋण लगानी गर्ने गरि सम्झौता भईसकेको छ । आयोजनाको कूल लागत एक अर्ब चौंसाठी करोड रहेकोमा सिद्धार्थ बैंक लिमिटेडले एक अर्ब तेईस करोड ऋण लगानी गर्नेछ। हालसम्म आयोजनाको करिब साठी प्रतिशत भन्दा बढी भौतिक प्रगति भैसकेको छ।
अनुभवी नेतृत्व, ऊर्जा क्षेत्रप्रतिको दीर्घकालीन प्रतिबद्धता तथा नेपालको जलस्रोतको प्रभावकारी उपयोग गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादनमा योगदान पुर्याउने कम्पनीले लक्ष्य लिएको छ ।















