यसपटक तामझामबिना नै नयाँ नोट साट्न पाउने, राष्ट्र बैंकको अनौपचारिक व्यवस्था
तामझाम र भीडभाडबिना नै यस वर्षको दसैं तथा तिहारका लागि नागरिकले बैंक शाखामार्फत नयाँ नोट साट्न सक्ने भएका छन्।
काठमाडाैँ । दसैं र तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा विगतमा देखिएको नयाँ नोट साट्ने लामो लाइन र भिडभाड यसपटक भने देखिने छैन। नेपाल राष्ट्र बैंकले यस वर्ष सार्वजनिक रूपमा औपचारिक सूचना निकालेर निश्चित दिन तोक्ने परम्परागत शैली फेरेको छ।
चाडपर्वको अवसरमा नयाँ नोटको बढ्दो मागलाई मध्यनजर गर्दै केन्द्रीय बैंकले तामझामबिना नै नागरिकलाई सहज रूपमा नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
विगतका वर्षहरूमा दसैंको मुखमा राष्ट्र बैंकले विशेष काउन्टरहरू तोकेर उत्सवका रूपमा नयाँ नोट वितरण गर्ने गर्थ्यो। यसपटक भने त्यस्तो कुनै विशेष घोषणा वा तामझाम नगरिए पनि नयाँ नोट सटहीको सुविधा सुचारु राखिएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार यस वर्ष सार्वजनिक रूपमा ठूलो सूचना जारी गर्ने योजना नरहे पनि स्वस्फूर्त रूपमा नोट साट्न आउने नागरिकलाई निराश पारिएको छैन। बैंकले कार्यालयमा आउनेहरूलाई एक–दुई सेट नयाँ नोट सहज रूपमा सटही गरेर पठाउने गरेका छन्।
केन्द्रीय बैंकले चाडपर्वलाई लक्षित गरेर बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नयाँ नोटको प्रबन्ध पहिल्यै मिलाइसकेको छ। वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाले आफ्ना ग्राहकलाई वितरण गर्नका लागि आवश्यक नयाँ नोट राष्ट्र बैंकबाट यसअघि नै बुझेर लगिसकेका छन्। त्यसैले नागरिकले राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय धाइरहनु नपर्ने भएको छ।
आफूलाई पायक पर्ने कुनै पनि बैंक तथा वित्तीय संस्थाका शाखामार्फत नयाँ नोट सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।
राष्ट्र बैंकले वर्षभरि नै नियमित रूपमा सुकिला तथा नयाँ नोट सटहीको सुविधा दिँदै आएको भए पनि दसैं, तिहार र छठ जस्ता पर्वमा यसको माग अत्यधिक हुने गर्छ। विगतमा भीड व्यवस्थापन गर्न कठिन हुने र आलोचनासमेत हुने गरेका कारण यसपटक केन्द्रीय बैंकले नीतिगत रूपमा नै शैली बदल्दै विकेंद्रित रूपमा बैंक शाखामार्फत नै नोट सटहीको प्रबन्ध गरेको छ।
यसले गर्दा सर्वसाधारणले अनावश्यक सास्ती र झन्झटबिना नै बैंकका काउन्टरबाटै चाडपर्वका लागि नयाँ नोट पाउन सक्नेछन्।















