पिंकवाक २०२६ का लागि दर्ता खुला
काठमाडौं। स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’ मा सहभागी हुन दर्ता खुला गरिएको छ। आयोजकका अनुसार पिंकवाक असोज १७ गते शनिबार बिहान ६ बजे काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म आयोजना हुनेछ।
पदयात्रामा सहभागी हुन इच्छुक व्यक्ति, संघसंस्था तथा समुदायका सदस्यले ईसेवामार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। सहभागीले pinkwalk.github.io/register मा गएर उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भरेर दर्ता गर्न सक्नेछन्।
त्यस्तै, ईसेवा एपमार्फत पनि दर्ता गर्न सकिने आयोजकले जनाएको छ। त्यसका लागि ईसेवा एप खोलेर भोटिङ एन्ड इभेन्ट्समा गई ‘पिंकवाक’ छनोट गर्नुपर्नेछ। पिंकवाकमार्फत स्तन क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै उपचारको महत्त्वबारे सन्देश प्रवाह गर्ने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्य राखिएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति, प्रभावित परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ। पिंकवाक २०२६ इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको हो। कार्यक्रममा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलगायत संस्थाको सहयोग रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेशनल क्यान्सर अस्पताल, म्याक्स फाउन्डेसन, नोभाला बायोटेक, क्याम्सले मोनाल, स्नो ड्रप्स एच₂ओ, नेट टिभी, उनो, ह्याप्पी माइन्डस्, वाउ, जीभी, बर्स्ट निम्बू फिज्ज, हिमालयन जाभा, स्मृतिपत्र, झिगु नेवाः बाजं खलः, पठाओ, क्यूएफएक्स, इसेवा, बज्र नासः खलः, ताल नृत्य भूमि, आईएसएस, वानपसल, क्रेयन्स् कोर्प तथा काठमाडौँ पोस्टलगायत विभिन्न संस्था तथा व्यवसाय साझेदारका रूपमा रहेका छन्।
आयोजकले स्तन क्यान्सरविरुद्धको सचेतना अभियानमा सामूहिक सहभागिता र ऐक्यबद्धता जनाउन सर्वसाधारणलाई पिंकवाक २०२६ मा सहभागी हुन आग्रह गरेको छ।















