१५ आश्विन २०८३, बिहिबार

बागलुङमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुग्यो



काठमाडाैँ । गत असोज ९ देखि ११ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी बागलुङमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। लगातारको बाढीपहिरोले ग्रामीण बस्तीहरूमा ठूलो मानवीय क्षति पुर्‍याएको छ।

घटना घटेको केही दिन बितिसक्दा पनि उद्धार र खोजी कार्य जारी रहेको छ भने लगातार थपिने मानवीय क्षतिको विवरणले सिंगो जिल्लालाई नै शोकमा डुबाएको छ।

पहिरो गएको दिनदेखि नै बेपत्ता रहनुभएकी तमानखोला गाउँपालिका–४, सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव बुधबार फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले दिएको जानकारी अनुसार लामो खोजी Fपचार्पश्चात् विकको शव फेला परेको हो।

यससँगै यस क्षेत्रमा विपद्बाट प्रभावित भएकाहरूको खोजी कार्य अझै गम्भीरतापूर्वक अगाडि बढाइएको प्रहरीले जनाएको छ।

पहिरोले घर पूर्ण रूपमा पुरिँदा बागलुङका विभिन्न गाउँपालिकामा ठूलो मानवीय क्षति भएको छ। प्राप्त विवरण अनुसार निसीखोला गाउँपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ। त्यसैगरी, तमानखोला गाउँपालिकामा पनि पहिरोमा परेर पाँचै जनाको ज्यान गएको छ भने ताराखोला गाउँपालिकामा तीन जनाले ज्यान गुमाएका छन्।

यस विपद्मा तमानखोला गाउँपालिकाका बुद्धिराज घर्ती, भीमदेवी घर्ती, हस्तवीर श्रीपाली र उडिसरा श्रीपालीलगायतले ज्यान गुमाएका छन्। घरमै सुतिरहेको बेला वा बसिरहेको बेला अचानक आएको पहिरोले घर बगाउँदा स्थानीय बासिन्दाहरूले ज्यान गुमाउनु परेको हो। घटनाले स्थानीय बासिन्दालाई त्रसित र मर्माहत बनाएको छ।