१५ आश्विन २०८३, बिहिबार

कोरला नाका र मुस्ताङ जाेड्ने बेनी–जोमसोम सडक मर्मत सुरु



बाढीपहिरोले ४६ स्थानमा क्षति पुर्‍याएर ठप्प भएको सामरिक महत्वको बेनी–जोमसोम सडक खुलाउन र रोकिएको व्यापार तथा जनजीवन सहज बनाउन अहिले तीव्र गतिमा मर्मत र डाइभर्सनको काम थालिएको छ।

काठमाडाैँ । पछिल्लो समय आएको विनाशकारी झरी तथा बाढीपहिरोका कारण ठप्प बनेको पर्यटकीय जिल्ला मुस्ताङ र म्याग्दीको सदरमुकाम बेनी जोड्ने एकमात्र जीवनरेखा बेनी–जोमसोम सडकखण्डको मर्मतकार्य तीव्र पारिएको छ।

दुई सय दुई किलोमिटर लामो यो रणनीतिक सडकका विभिन्न छयालीस स्थानमा बाढी र पहिरोले भयानक क्षति पुर्‍याएपछि त्यस क्षेत्रको यातायात र व्यापारिक गतिविधि पूर्णरूपमा बन्द भएको थियो।

अवस्था गम्भीर बन्दै गएपछि सम्बन्धित निकायले दुवैतर्फबाट उपकरण र जनशक्ति परिचालन गरेर अवरोध खुलाउने प्रयास अगाडि बढाएका हुन्।

बेनी–जोमसोम कोरला सडक आयोजनाका अनुसार अहिले जोमसोम र बेनी दुवैतर्फबाट एकसाथ मर्मतको काम भइरहेको छ। आयोजना प्रमुख तेजश्वी शर्माले जोमसोमदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गासम्मको सडक खण्ड मर्मत भइसकेको जानकारी दिए।

उनका अनुसार म्याग्दीतर्फ मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्म र मुस्ताङतर्फ दाना हुँदै नागढुङ्गासम्म सवारीसाधनहरू चल्न थालेका छन्।

यसैबीच, रघुगङ्गा गाउँपालिकाको तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डको सडक खुलाउन स्थानीयस्तरमै उपलब्ध सडक विभाग, विभिन्न जलविद्युत आयोजना र निर्माण व्यवसायीका उपकरण तथा मजदुरहरूलाई परिचालन गरिएको छ।

गत असोज ११ गते आएको कालीगण्डकीको बाढीले पोखरेबगरमा बगाएको सडक पुलको पहुँचमार्ग मर्मत गर्ने काम पनि आजैदेखि सुरु हुँदैछ।

ठप्प व्यापार

सडक अवरुद्ध हुँदा उत्तरी नाका कोरलाबाट सामान लिन गएका सयौँ कन्टेनरहरू बाटोमै रोकिएका छन्। रसुवा र तातोपानी नाकाको विकल्पका रूपमा हेरिएको चीनसँगको व्यापारिक नाका कोरलाबाट आयात गरिएका सामान गन्तव्यमा पुग्न नपाउँदा व्यापारीहरू चिन्तित छन्।

यसले गर्दा मुस्ताङ र म्याग्दीका अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकासँगको यातायात सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ।

यातायात ठप्प भएपछि मुस्ताङमा उत्पादित प्रख्यात स्याउ र आलु बजारसम्म लैजान पाइएको छैन। नजिकिँदै गरेको चाडपर्व दसैँका लागि बजारमा बिक्री गर्न ल्याइने भेडाच्याङ्ग्रा समेत बाटा,मै रोकिनुपरेको अवस्था छ। पर्यटन व्यवसाय पनि पूर्णरूपमा प्रभावित बनेको छ।

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा जटिल प्रकृतिका बिरामीहरूलाई समयमै अस्पतालसम्म लैजान हेलिकप्टरको साहारा लिनुपरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

प्राविधिक चुनौती

सडक सञ्चालनमा ल्याउन कटिङ, फिलिङ, डाइभर्सन निर्माण तथा नयाँ मार्ग खोल्ने विकल्पहरू अपनाइएको छ। यद्यपि, तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा सडक खुलाउन ठूलो प्राविधिक चुनौती देखापरेको छ।

यसअघि सडक रहेको भूभाग कालीगण्डकीले पूर्ण रूपमा काटेर बगाएपछि अहिले नदी आयोजनाको स्वीचयार्ड नजिकैबाट बगिरहेको छ।

त्यहाँ सडक बनाउनका लागि आयोजनाका प्रयोगमा नरहेका वैकल्पिक दुईवटा टावरहरू हटाउनुपर्ने अवस्था आएको छ। प्रजिअ गणेश गैरेका अनुसार टावर हटाउनका लागि राहुघाटको प्रवर्द्धक रघुगङ्गा हाइड्रोपावरको सञ्चालक नेपाल विद्युत् प्राधिकरणलाई आधिकारिक रूपमा पत्राचार गरिएको छ।

मर्मत कार्यमा खटिने मेशिनरी उपकरणहरूका लागि इन्धनको आपूर्ति सहज बनाउने कामसमेत भइरहेकाले जतिसक्दो चाँडो यातायात व्यवस्था पूर्ण रूपमा सुचारु हुने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्।