धनी र गरिबबीचको फराकिलो खाडल : विश्वको आधा सम्पत्ति जम्मा १.५ प्रतिशत व्यक्तिको कब्जामा
काठमाडौँ। एकातिर संसारको कुल सम्पत्ति द्रुत गतिले उकालो लागिरहेको छ भने अर्कोतिर धनी र गरिबबीचको दूरी आकाश र पाताल जस्तै फराकिलो बन्दै गइरहेको छ।
स्वीस बैंक यूबीएसले हालै सार्वजनिक गरेको ग्लोबल वेल्थ रिपोर्ट २०२६ ले विश्व अर्थतन्त्रको यो अचम्मको र केही चिन्ताजनक चित्र बाहिर ल्याएको हो। यस प्रतिवेदनका रोचक तथा गम्भीर पक्षहरू यस्ता छन्।
विश्वको आधा सम्पत्ति केवल डेढ प्रतिशत मान्छेको मुठीमा
संसार कति असमान बन्दैछ भन्ने कुरा एउटै तथ्याङ्कले स्पष्ट पार्छ। विश्वको सम्पूर्ण व्यक्तिगत सम्पत्तिको ४८.४ प्रतिशत हिस्सा जम्मा १.५ प्रतिशत धनाढ्यहरूको कब्जामा छ। विश्वभरका करिब ५ करोड ८० लाख मानिसहरुले कुल २५०.५९ ट्रिलियन अमेरिकी डलर बराबरको ढुकुटी नियन्त्रण गरिरहेका छन्।
गरिबहरूको अवस्था यसको ठ्याक्कै उल्टो छ। विश्वको कुल वयस्क जनसंख्याको ४२.१ प्रतिशत ओगट्ने करिब १ अर्ब ६२ करोड मानिसहरूसँग १० हजार डलरभन्दा कम मात्र खुद सम्पत्ति छ। तर अचम्मको कुरा, यो विशाल मानव समुदायसँग विश्व सम्पत्तिको जम्मा ०.६ प्रतिशत (३.२२ ट्रिलियन डलर) मात्र सम्पतिको हिस्सा छ।
भारतमा करिब ९ लाख ४४ हजार डलर–करोडपति
यस वर्ष यूबीएसले विश्वको कुल सम्पत्तिको ९२ प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने ५६ प्रमुख अर्थतन्त्रलाई अध्ययनमा समेटेको छ। नेपाल भने यस अध्ययनमा परेको छैन।
दक्षिण एसियाबाट भारतलाई मात्र अध्ययनमा समावेश गरिएको छ। भारतमा १० लाख अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका व्यक्तिको संख्या करिब ९ लाख ४४ हजार पुगेको रिपोर्टले जनाएको छ।
अध्ययनमा समेटिएका ५६ बजारमा कुल डलर–करोडपतिको संख्या करिब ५ करोड ७५ लाख रहेको छ। सन् २०२५ मा मात्रै विश्वमा करिब १० लाख नयाँ डलर–करोडपति थपिएको अनुमान छ। यस आधारमा दैनिक औसत करिब २ हजार ६८० जना नयाँ डलर–करोडपति बनिरहेका छन्।
अमेरिका र चीनमा ठूलो सम्पत्ति केन्द्रित
विश्वको व्यक्तिगत सम्पत्ति केही ठूला अर्थतन्त्रमा अत्यधिक केन्द्रित रहेको पनि रिपोर्टले देखाएको छ।
अमेरिकासँग मात्रै अध्ययनमा समेटिएको विश्वव्यापी व्यक्तिगत सम्पत्तिको ३५.७ प्रतिशत हिस्सा रहेको छ। त्यस्तै, चीन, हङकङ र ताइवानलाई समेटिएको ‘ग्रेटर चाइना’ क्षेत्रमा १८.५ प्रतिशत सम्पत्ति केन्द्रित छ। यी दुई क्षेत्रसँग विश्वको आधाभन्दा बढी व्यक्तिगत सम्पत्ति रहेको देखिन्छ।
यसैगरी पश्चिमी युरोपको हिस्सा २१.९ प्रतिशत रहेको छ। प्रतिवयस्क औसत सम्पत्तिको आधारमा स्विट्जरल्यान्ड ९ लाख १० हजार ३८२ डलरसहित पहिलो स्थानमा छ भने अमेरिकामा यो औसत ६ लाख ९६ हजार २७७ डलर रहेको छ।
उता, उदीयमान बजारहरूको समग्र विश्वव्यापी सम्पत्तिको हिस्सा २६.२ प्रतिशत रहेको छ। यो हिस्सा सन् २०२२ मा २८.८ प्रतिशत थियो।
देशअनुसार वित्तीय सम्पत्तिको संरचना फरक
व्यक्तिगत सम्पत्तिमा वित्तीय सम्पत्तिको योगदान पनि देशअनुसार उल्लेखनीय रूपमा फरक रहेको यूबीएसले जनाएको छ।
स्विडेनमा कुल व्यक्तिगत सम्पत्तिमध्ये वित्तीय सम्पत्तिको हिस्सा ८३.६ प्रतिशत छ। ताइवानमा यस्तो हिस्सा ८०.८ प्रतिशत र अमेरिकामा करिब ७९ प्रतिशत रहेको रिपोर्टले देखाएको छ।
डलर–करोडपति हुनु भनेको बैंक खातामा १० लाख डलर नगद हुनु होइन। यूबीएसका अनुसार १ देखि ५ मिलियन डलर सम्पत्ति भएका सामान्य डलर–करोडपतिका लागि आफ्नै बसोबासको घर सबैभन्दा ठूलो सम्पत्ति हुने गरेको छ।
यूबीएसले तरल सम्पत्तिको गणनामा नगद, बैंक निक्षेप, स्वैच्छिक पेन्सन बचत, सामूहिक लगानी योजनामा रहेको रकम तथा सेयरलगायत प्रत्यक्ष वित्तीय लगानीलाई समेटेको थियो।















