१६ आश्विन २०८३, शुक्रबार

६० करोड स्वीस फ्याङ्कको ‘सेयर बायब्याक’ ले फर्काउला जुलियस बायरको गुमेको साख ?



काठमाडौँ । ठूलो ऋण घाटा र नियामकको कारबाही झेलेको स्विट्जरल्यान्डको प्रतिष्ठित निजी बैंक ‘जुलियस बायर’ वित्तीय पुनरागमनको रणनीतिसहित बजारमा फर्किएको छ।

दुई वर्षअघिको ठूलो वित्तीय सङ्कटबाट सम्हालिँदै स्विस बैंक ‘जुलियस बायर’ ले ७२ करोड अमेरिकी डलरभन्दा बढीको सेयर फिर्ता खरिद गर्ने घोषणा गरेको हाे।

अस्ट्रियाको घरजग्गा समूह सिग्नासँग जोडिएको ऋणमा बैंकले ६० करोड ६० लाख स्विस फ्रान्कको घाटा बेहोरेपछि नेतृत्व परिवर्तनदेखि निजी ऋण व्यवसाय नै बन्द गर्नेसम्मका कठोर निर्णय लिनुपरेका थियाे ।

सङ्कटबाट बिस्तारै सम्हालिँदै आएको बैंकले अहिले भने बजारमा बलियो पुनरागमनको सङ्केत दिएको छ। स्विस वित्तीय बजार नियामक (फिन्मा) ले लामो समयदेखिको कारबाही टुंग्याएलगत्तै जुलियस बायरले ६० करोड स्विस फ्रान्क (करिब ७२ करोड ३० लाख अमेरिकी डलर) बराबरको आफ्नै सेयर खरिद फिर्ता (बायब्याक) गर्ने घोषणा गरेको छ।

आगामी केही साताभित्र सुरु भई एक वर्षभित्र पूरा हुने यो कार्यक्रमले लगानीकर्ताको विश्वास पुनः जित्न र बैंकको वित्तीय स्थिति मजबुत रहेको सन्देश दिन सहयोग पुग्ने देखिन्छ।

सेयर खरिद फिर्ता भन्नाले कम्पनीले बजारमा रहेका आफ्नै सेयर आफैँ किन्ने प्रक्रिया हो। यस्तो प्रक्रियाबाट बजारमा कारोबार हुने कम्पनीका सेयरको संख्या घट्न सक्छ र बाँकी सेयरधनीको कम्पनीमा रहेको स्वामित्वको हिस्सा तुलनात्मक रूपमा बढ्न सक्छ। कम्पनीसँग पर्याप्त पुँजी रहेको अवस्थामा यस्तो कदमलाई सेयरधनीलाई पुँजी फिर्ता गर्ने एउटा माध्यमका रूपमा पनि लिइन्छ।

ऋण घोटाला र रुसी काण्ड: कसरी फसेको थियो जुलियस बायर?

फिन्माले सेप्टेम्बर २९ मा कारबाही टुंग्याउँदै जुलियस बायरले जोखिम व्यवस्थापन र सम्पत्ति शुद्धीकरण नियन्त्रणमा गम्भीर कमजोरी गरेको निष्कर्ष निकालेको थियो।

एक दशकभन्दा कम अवधिमा बैंकमाथि फिन्माले टुंग्याएको यो पाँचौँ कारबाही हो। बैंकले सन् २०१८ देखि पर्याप्त आन्तरिक नियन्त्रण र दक्ष जनशक्तिविना नै गैर-सूचीकृत सेयरको धितोमा निजी ऋण कारोबार विस्तार गरेको थियो।

यसै क्रममा बैंकले सन् २०१९ देखि एउटा युरोपेली समूहलाई आफ्नै ऋण सीमा उल्लङ्घन गर्दै ८ वटा किस्तामा १ अर्ब स्विस फ्रान्कभन्दा बढी ऋण प्रवाह गर्‍यो। जसका कारण सन् २०२३ को अन्त्यसम्ममा ५८ करोड ६० लाख स्विस फ्रान्क ऋण पूर्ण रूपमा घाटामा लेख्नुपरेको थियो।

यसबाहेक, राजनीतिक रूपमा प्रभावशाली दुई रुसी ग्राहकको सम्पत्ति स्रोत, शंकास्पद गतिविधि र ग्राहक पहिचान (केवाईसी) नियममा अपनाइएको अपवादबारे पर्याप्त जाँच नगरेको पनि फिन्माको अनुसन्धानमा पुष्टि भएको छ।

कारबाही टुंगिए पनि बैंकमाथि केही सर्तहरू अझै कायम छन्। फिन्माले अनुपालन उल्लङ्घनबाट आर्जन भएको १ करोड स्विस फ्रान्क नाफा जफत गरेको छ।

साथै, बैंकले सन् २०३२ सम्म जोखिम सुधारबारे नियमित प्रतिवेदन बुझाउनुपर्ने, नयाँ मापदण्ड पूरा नगरेसम्म २५ करोड स्विस फ्रान्क अतिरिक्त पुँजी राख्नुपर्ने र लाभांश भुक्तानीका लागि फिन्माको पूर्वस्वीकृति लिनुपर्ने सर्त तोकिएको छ। फिन्माले बैंकका तीन पूर्वकर्मचारीविरुद्ध छुट्टै कारबाही प्रक्रियासमेत अघि बढाएको छ।

आन्तरिक रूपान्तरणदेखि कीर्तिमानी वित्तीय परिसूचकसम्म

विगतका कमजोरीहरू सुधार्दै बैंकले जोखिमपूर्ण निजी ऋण कारोबार पूर्ण रूपमा बन्द गरेको छ। नेतृत्व, संस्थागत शासन र नियन्त्रण संयन्त्रमा व्यापक परिवर्तन गरेपछि फिन्माले पनि बैंकको सुधारलाई स्वीकार गरेको छ। यही आन्तरिक सुधार र सुदृढ पुँजीगत अवस्थाकै बलमा बैंकले सेयरधनीलाई पुँजी फिर्ता गर्ने बाटो रोजेको हो।

बैंकको पछिल्लो वित्तीय विवरण अनुसार सन् २०२६ को पहिलो ६ महिनामा खुद नाफा १२८ प्रतिशतले बढेर ६७ करोड ३० लाख स्विस फ्रान्क पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा २९ करोड ५० लाख स्विस फ्रान्क मात्र थियो।

यसै अवधिमा बैंकको सीईटी–१ पुँजी अनुपात १८.५ प्रतिशत, कुल पुँजी अनुपात २४.४ प्रतिशत र तरलता कभरेज अनुपात ३४४ प्रतिशत पुगेको छ। साथै, बैंकको व्यवस्थापनअन्तर्गतको सम्पत्ति ५ खर्ब ४७ अर्ब स्विस फ्रान्कको कीर्तिमानी स्तरमा पुगेको छ।

नियामकीय स्पष्टतापछि पुँजी वितरण नीति कायम राख्दै ल्याइएको यस बायब्याक योजनाले लगानीकर्तामा पुनः उत्साह जगाएकाे छ। फिन्माको कारबाही सकिएको खबर सार्वजनिक हुनासाथ जुलियस बायरको सेयर मूल्य एकै दिन ८.८ प्रतिशतले बढेर कीर्तिमानी उचाइमा पुगेको थियो।

सेयर खरिद फिर्ता योजना सार्वजनिक गर्दै बैंकले आफ्नो वित्तीय क्षमता, नाफा र सुधारिएको जोखिम व्यवस्थापनप्रति बजारमा उच्च विश्वास कायम गराउन खाेजेकाे छ।