१ कार्तिक २०८३, आइतबार

बागलुङको गलकोटमा बाढी र पहिरोकाे ताण्डव, ६३ घरमा पूर्ण र १३३ मा आंशिक क्षति



असोजको पहिलो साता आएको भीषण बाढी, पहिरो र हुरीबतासका कारण बागलुङको गलकोट नगरपालिकाभित्र मात्रै ६३ वटा घरहरूमा पूर्ण क्षति पुगेको छ भने जनजीवन अझै सामान्य बन्न सकेको छैन।

काठमाडाैँ । बागलुङको गलकोट क्षेत्र प्राकृतिक विपद्का कारण ठूलो क्षति व्यहोर्न बाध्य भएको छ। गएको असोज ९ देखि ११ गतेसम्म लगातार परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र विनाशकारी हुरीबतासले यस क्षेत्रमा ठूलो धनजनको जोखिम निम्त्याएको छ। स्थानीय तहबाट प्राप्त आधिकारिक विवरण अनुसार यस विपद्ले गलकोटका विभिन्न वडामा गरी ठूलो संख्यामा भौतिक संरचनाहरू तहसनहस पारेको छ।

आपत्कालीन राहत तथा उद्धारमा खटिएको गलकोट नगरपालिकाले संकलन गरेको तथ्यांक अनुसार यस प्राकृतिक प्रकोपका कारण कुल ६३ वटा घरहरूमा गम्भीर तथा पूर्ण क्षति पुगेको छ। यसैगरी, एउटा स्थानीय वडा कार्यालयको भवनसमेत बाढीले बगाएकाे छ।

पूर्ण क्षति हुने घरहरूको सूचीमा बाढी र पहिरोसँगै हुरीबतासको ताण्डव पनि प्रमुख कारण बनेको छ। नगरपालिकाले दिएको जानकारी अनुसार मात्र हुरीले ३९ वटा घरहरू पूर्ण रूपमा उडाएर वा भत्काएर नष्ट गरेको छ भने ५२ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ।

यस बाहेक नगरपालिकाभरि १३३ वटा घरहरूमा आंशिक रूपमा क्षति पुगेको देखिएको छ, जसले गर्दा सयौं नागरिकहरू अहिले पनि असुरक्षित महसुस गरिरहेका छन्।

घरवास मात्र नभई यस विपद्ले गलकोटको कृषियोग्य भूमि र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने सिँचाइ संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ। बाढी र पहिरोको बेगले कृषि क्षेत्रलाई सीधा असर गर्ने पक्की सिँचाइका २१ वटा संरचनाहरूमा ठूलो नोक्सानी पुगेको छ भने २४ वटा पक्की संरचनामा सामान्य क्षति भएको छ।

यसैगरी, ग्रामीण भेगमा निर्माण गरिएका कच्ची सिँचाइका २०३ वटा संरचनाहरू पनि पूर्ण वा आंशिक रूपमा बगेका वा पुरिएका छन्। सिँचाइ कुलो र नहरहरूमा पुगेको यो व्यापक क्षतिको कारण आगामी बाली लगाउने बेलामा यस क्षेत्रका किसानहरूले गम्भीर समस्या भोग्नुपर्ने देखिएको छ।

आपत्कालीन तथ्यांक संकलन र प्रारम्भिक राहतको काम सकिए पनि प्रभावित परिवारहरूले अझै पनि पुनःस्थापना र स्थायी समाधानको अपेक्षा गरिरहेका छन्। स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान समयमै पुग्न सकेन भने यो क्षतिले दिर्घकालीन रूपमा गलकोटको सामाजिक तथा आर्थिक जीवनमा गहिरो असर पार्ने निश्चितप्रायः छ।