१८ आश्विन २०८३, आइतबार

एक रुपैयाँ दरका ४० करोड नयाँ सिक्का छाप्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ रुपेयाँ दरका नयाँ सिक्का छाप्ने भएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

विभागले सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसम्बन्धी कामका लागि बोलपत्र बोलपत्र आह्वान गरेको हो । जसमा यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन्।

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका चलनचल्तीका सिक्का डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि योग्य कम्पनीबाट सिलबन्दी बोलपत्र माग गरेको हो। बोलपत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक विधिबाट एक चरणमा दुई छुट्टाछुट्टै खाममा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्रमा सहभागी हुने कम्पनीले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा राखेर पेश गर्नुपर्नेछ। बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट प्राप्त गर्न सकिनेछ।

बोलपत्रसम्बन्धी कागजात खरिद गर्न चाहने योग्य कम्पनीले आफ्नो कम्पनी वा संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि, अधिकृत प्रतिनिधिको पत्र तथा कागजात शुल्क बुझाएको बैंक भौचर पेश गर्नुपर्नेछ। कागजात खरिदका लागि आगामी २ नोभेम्बरसम्मको समय तोकिएको छ।

राष्ट्र बैंकले बोलपत्रसम्बन्धी कागजातको शुल्क २० हजार नेपाली रुपैयाँ तोकेको छ। बोलपत्र पेश गर्नुअघि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा आगामी १५ अक्टोबरमा पूर्वबोलपत्र बैठक आयोजना गरिने भएको छ। उक्त बैठक दिउँसो १२ बजे हुने राष्ट्र बैंकले जनाएको छ।

सिलबन्दी बोलपत्र आगामी ३ नोभेम्बर दिउँसो १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हात वा कुरियरमार्फत बुझाउनुपर्नेछ। तोकिएको समयपछि प्राप्त हुने बोलपत्र स्वीकार गरिने छैन।

पेश भएका बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिनेछ। बोलपत्र खोल्ने समयमा सहभागी हुन चाहने कम्पनीका प्रतिनिधि उपस्थित हुन सक्नेछन्।

बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ। साथै बोलपत्रसँग कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी सुरक्षण पनि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तो धरौटी बोलपत्रको मान्य अवधि सकिएको मितिपछि थप ३० दिनसम्म मान्य हुनुपर्नेछ।

राष्ट्र बैंकले सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार कालोसूचीमा परेको कुनै कम्पनी, संस्था वा व्यक्ति बोलपत्र प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट पारेको छ। त्यस्तै, कालोसूचीमा परेको कम्पनी वा संस्थाका सञ्चालक वा लगानीकर्तासँग सम्बन्धित नयाँ कम्पनी वा संस्थालाई समेत बोलपत्रमा सहभागी हुन नदिइनेछ।