कांग्रेसमा पुस्तान्तरण : युवा नेतृत्वको उदय र रूपान्तरणको नयाँ आशा
काठमाडौँ। रत्नपार्कस्थित खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहमा सहभागी हुन देशभरबाट सात हजारभन्दा बढी प्रतिनिधिहरू राजधानी आइपुगेका छन्।
गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वले विधानअनुसार यो नियमित महाधिवेशन आयोजना गरेको हो। यसपटकको महाधिवेशनमा परम्परागत राजनीतिक धारभन्दा माथि उठ्दै पार्टीभित्र युवा नेतृत्वको हस्तान्तरण र पुस्तान्तरणको मुद्दा मुख्य आकर्षण बनेको छ।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँगै अन्तर्राष्ट्रिय स्तरबाट भारतीय जनता पार्टी (भाजपा), कंग्रेस, चिनियाँ कम्युनिस्ट पार्टी, बेलायतको लेबर पार्टी लगायत विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले समेत शुभकामना सन्देश पठाएका छन्।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति पुष्पा भुसालले यो महाधिवेशन केवल पद व्यवस्थापनको थलो मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको ऐतिहासिक अवसर हुनुपर्ने बताएकी छिन्।
उनले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र मुलुकको जनसङ्ख्यामा ४१ प्रतिशत हिस्सा ओगट्ने ‘जेन–जी’ पुस्ताको सुशासन तथा रोजगारीको चाहनालाई कांग्रेसले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
साथै, राज्यका हरेक नीति निर्माण तहमा ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग पनि उनले राखिन्।
कांग्रेसमा पुस्तान्तरण : युवाहरुमा उत्साह
अर्थपथले कांग्रेश महाधिवेशनमा सहभागी नेपाली कांग्रेशप्रति आस्थावान जेनजी युवा तथा प्रतिनिधीहरुसँग कुरा गर्दा अधिकांश युवाहरुले कांग्रेसमा पुस्तान्तरण भएको उल्लेख गर्दै उत्साह व्यक्त गरे ।
त्यहाँ उपस्थित युवाहरूले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासमा महत्त्वपूर्ण योगदान दिने बताएका छन्। कांग्रेसले अब युवा पुस्ताको मागलाई विशेष प्राथमिकतामा राख्न थालेको उनीहरूको बुझाइ छ।
महाधिवेशन स्थलमा उपस्थित युवाहरूमा एक किसिमको बेग्लै उत्साह र ऊर्जा छाएको देखिएको छ। दशकौँदेखि एउटै पुस्ताको हालीमुहाली रहेको नेपाली राजनीतिमा कांग्रेसले देखाएको यो पुस्तान्तरणको अभ्यासलाई युवाहरूले अत्यन्तै सकारात्मक रूपमा लिएका छन्।
गगन थापाको नेतृत्वले अब मुलुकलाई आर्थिक समृद्धि, सुशासन र ठोस विकासको बाटोमा डोऱ्याउने उनीहरूको विश्वास छ।
नेताहरूको मिश्रित प्रतिक्रिया
कार्यक्रममा अन्य दलका शीर्ष नेताहरूले पनि समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले गगन थापाको पुस्तातर्फ लक्षित गर्दै अब आधा-आधि कपाल फुलेको यो नयाँ नेतृत्वले देशमा ठोस परिणाम देखाउनुपर्ने बताए।
यता, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार जनता र संसद्प्रति उत्तरदायी नभई स्वेच्छाकारी बन्दै गएकोमा चिन्ता व्यक्त गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पात्र फेरिए पनि प्रवृत्ति नबदलिएको भन्दै राजा, दल र नयाँ पुस्तालाई समेटेर राष्ट्रिय सहमतिको खाँचो औँल्याए।
१५औँ महाधिवेशनले कांग्रेसलाई मात्र नभई समग्र नेपालको लोकतान्त्रिक भविष्यलाई नै नयाँ दिशा दिने अपेक्षा नेपाली कांग्रेशका नेता कार्यकर्ताहरुको छ।















