१९ आश्विन २०८३, सोमबार

दसैँ नजिकिँदै बजारमा किनमेलको चाप बढ्यो, ग्राहक बढेपछि व्यापारीलाई भ्याइनभ्याइ



काठमाडौँ। बडादसैँ नजिकिँदै जाँदा काठमाडौँका प्रमुख बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ्न थालेको छ । भृकुटीमण्डपसहित राजधानीका विभिन्न खुला बजारमा दसैँका लागि नयाँ लत्ताकपडा तथा आवश्यक सामग्री खरिद गर्न आउने सर्वसाधारणको सङ्ख्या पछिल्ला दिनमा बढेको हो ।

चाडपर्वको तयारीका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहक बढेसँगै व्यापारीलाई पनि कारोबार व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन थालेको छ। भृकुटीमण्डपका विभिन्न पसलमा ग्राहकहरू कपडाको डिजाइन, गुणस्तर र मूल्यबारे जानकारी लिँदै आफ्नो आवश्यकता तथा बजेटअनुसार सामान छनोट गरिरहेका छन् ।

ग्राहक बढेपछि व्यापारीलाई भ्याइनभ्याइ

भृकुटीमण्डपस्थित फेन्सी पसलका व्यापारी अशोक खतिवडाका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन निरन्तर बढिरहेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि कपडा खरिद गर्न आउने ग्राहकको सङ्ख्या उल्लेख्य रूपमा बढेको उनले बताए ।

उनका अनुसार दसैँ नजिकिँदै जाँदा बिहानैदेखि बजारमा चहलपहल देखिन थालेको छ । कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको र आगामी दिनमा अझै चाप बढ्ने अपेक्षा रहेको उनले बताए ।

दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा भएकाले पनि चाडपर्वको समयमा लत्ताकपडाको बिक्री बढ्ने गरेको अर्का व्यापारीले बताए । उनका अनुसार परिवारका धेरै सदस्यका लागि एकैपटक सामान खरिद गर्नुपर्ने भएकाले दसैँको समयमा ग्राहकको खर्चसमेत बढ्ने गरेको छ ।

ग्राहकको चाप बढेपछि व्यापारीहरूलाई सामान देखाउने, डिजाइन र मूल्यबारे जानकारी दिने तथा ग्राहकको रोजाइअनुसार सामग्री छनोट गराउन थप व्यस्त हुनुपरेको छ। भृकुटीमण्डपमा कपडासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको उपस्थिति पनि बढेको व्यापारीहरू बताउँछन्।

विभिन्न प्रकारका सामान एउटै स्थानमा उपलब्ध हुनु र आफ्नो आर्थिक क्षमताअनुसार मूल्य छनोट गर्न सकिने भएकाले खुला बजारमा ग्राहकको आकर्षण बढेको व्यापारीहरूको भनाइ छ। विशेषगरी सीमित आम्दानी भएका परिवारका लागि खुला बजार चाडपर्वको किनमेलका क्रममा उपयुक्त विकल्प बन्ने गरेको उनीहरू बताउँछन्।

काठमाडौँका खुला बजार, सडक किनारका पसल तथा रात्रिकालीन बजारमा सपिङ मल र ठूला व्यापारिक केन्द्रको तुलनामा केही कम मूल्यमा लत्ताकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको उपस्थिति बढ्ने गरेको व्यापारीहरूको अनुभव छ।

न्यानो कपडाको माग पनि बढ्दै

दसैँको समयसँगै मौसममा परिवर्तन आउन थालेपछि आगामी चिसोका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकसमेत बजारमा देखिन थालेका छन्। ज्याकेट, स्विटर, हुडी, ट्र्याकसुटलगायत न्यानो कपडाको माग क्रमशः बढिरहेको व्यापारीहरूको भनाइ छ।

व्यापारी हरिकृष्ण कँडेलका अनुसार पछिल्ला दिनमा न्यानो कपडा खोज्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको छ। दसैँका लागि नयाँ कपडा खरिद गर्न आउने ग्राहकले मौसमलाई ध्यानमा राखेर न्यानो कपडासमेत खरिद गर्न थालेका छन्।

चाडपर्वसँगै कारोबार बढ्ने व्यवसायीको अपेक्षा

दसैँलगायत अन्य चाडपर्व नजिकिँदै जाँदा काठमाडौँका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्यूरोड, सुन्धारा र नयाँसडकलगायत प्रमुख बजारमा ग्राहकको चाप अझ बढ्ने व्यवसायीहरूको अपेक्षा छ ।

उपत्यकाबाहिरबाट दसैँका लागि काठमाडौँ आएका नागरिकसमेत आवश्यक सामग्री तथा लत्ताकपडा खरिदमा व्यस्त हुन थालेका छन् । ग्राहकको माग बढ्ने अनुमान गर्दै व्यापारीहरूले विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् ।

बालबालिका, महिला तथा पुरुषका लागि फरक–फरक डिजाइन, रङ, आकार र मूल्यका कपडा बजारमा राखिएको व्यापारीहरू बताउँछन् । ग्राहकले आफ्नो रुचि, आवश्यकता र बजेटअनुसार सामान छनोट गरिरहेका छन् ।