आकाशमा यतीको व्यापारिक उडानः एक वर्षमा साढे ५ अर्बको कारोबार, यात्रु अकुपेन्सी ८२ प्रतिशत
काठमाडाैं । नेपालको निजी क्षेत्रको एक प्रमुख र अग्रणी आन्तरिक वायुसेवा प्रदायक यती एयरलाइन्सले पछिल्लो ५ वर्षयता आफ्नो वित्तीय तथा व्यावसायिक अवस्था मजबुत बनाउँदै लगेकाे छ।
सर्वसाधारणका लागि २ अर्ब १० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको गरिरहेकाे यती एयरलाइन्सले एक वर्षमा झण्डै साढे ५ अर्ब रूपैयाँ बराबरकाे व्यापार गरेकाे छ।
अघिल्लो आर्थिक वर्ष २०२५ काे तुलनामा २०२६ मा कम्पनीकाे व्यापार १.६९ प्रतिशतले बढेर ५ अर्ब ४७ करोड ५० लाख रुपैयाँ पुगेकाे छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको ५ अर्ब ३८ करोड ४० लाख रूपैयाँ बराबरकाे व्यापार गरेकाे थियाे।
यस्तै अघिल्ला वर्षहरू आर्थिक वर्ष २०२२ मा ३ अर्ब ९२ करोड, २०२३ मा ३ अर्ब ७७ करोड ५० लाख र आर्थिक वर्ष २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियाे ।
अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेका कारण कम्पनीको सञ्चालन नाफा दरमा भने केही गिरावट आएको छ। आर्थिक वर्ष २०२५ मा ३३.०८ प्रतिशत रहेको सञ्चालन नाफा दर २०२६ मा घटेर २९.५६ प्रतिशतमा झरेको छ।
यस्तै, नियामक निकायको नयाँ नियम अनुसार कम्पनीले आफ्ना सम्पूर्ण डलर ऋणलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा एकपटकका लागि ३२ करोड ७० लाख रुपैयाँ विदेशी विनिमय नोक्सानी बेहोर्नुपरेकाले खुद नाफा पनि अघिल्लो वर्षको ६४ करोड ८० लाख रुपैयाँबाट घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, ऋण स्वदेशी मुद्रामा रूपान्तरण भइसकेकाले आगामी वर्षहरूमा विनिमयदरको जोखिम भने हटेको छ।
अर्कोतर्फ, लक्षित लगानीकर्ताहरूमार्फत २ अर्ब २७ करोड रुपैयाँ स्वपुँजी थप गरिएकाले कम्पनीको पुँजीगत ढाँचा सुदृढ बनेको छ। जसले गर्दा कुल ऋण र स्वपुँजीको अनुपात अघिल्लो वर्षको ३.१० गुणाबाट घटेर १.४९ गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता अघिल्लो वर्षको २.९८ गुणाबाट बढेर ३.५४ गुणा पुगेको छ।
कम्पनीले संस्थागत तथा निजी लगानीकर्ताहरूमार्फत २ अर्ब २७ करोड रुपैयाँ स्वपुँजी थप गर्नुका साथै प्राप्त रकमबाट पुरानो ऋण चुक्ता गरेपछि कम्पनीको ऋणभारमा उल्लेख्य कमी आएको छ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ७ अर्ब ९८ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये ६ अर्ब ३८ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन ऋण, १ अर्ब ४ करोड ६५ लाख रुपैयाँ अल्पकालीन ऋण तथा ५५ करोड १९ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन प्रकृतिको ऋण रहेको छ।
यद्यपि, कम्पनीसामु केही सञ्चालन चुनौतीहरू पनि कायम छन्। पाटपुर्जाको भण्डारण र भुक्तानी अवधि घटेकाले सञ्चालन चक्र ८४ बाट ९८ दिन र कार्यशील पूँजीको सघनता ३४ प्रतिशत पुगेको छ। १८ वटा उडान मार्ग भए पनि काठमाडौँ–पोखरा र काठमाडौँ–विराटनगरसहित ४ मुख्य मार्गबाट ५१ प्रतिशत आम्दानी प्राप्त हुने र वैदेशिक मुद्रा आम्दानीको ९० प्रतिशत हिस्सा पोखरा क्षेत्रमै सीमित भएकाले उडान मार्ग विविधीकरण आवश्यक देखिन्छ।
आन्तरिक उड्डयन क्षेत्रमा बलियो उपस्थिति बनाएको यस कम्पनीले कुल यात्रुको हिसाबले करिब २२ देखि २३ प्रतिशत बजार हिस्सा ओगट्दै नेपालको दोस्रो ठूलो आन्तरिक हवाई सेवा प्रदायकको यात्रु अकुपेन्सी दर ८२ प्रतिशत पुगेको छ। हाल ७ वटा एटिआर ७२-५०० शृङ्खलाका विमानमार्फत मुलुकका मुख्य तथा सुगम सहरहरूमा नियमित उडान सञ्चालन गर्दै आएको कम्पनीले प्राथमिक सेयर निष्कासनपछि प्राप्त हुने पुँजीबाट ऋणको भार अझ घटाउने लक्ष्य राखेको छ।
सन् २००२ देखि सञ्चालनमा रहेको यती एयरलाइन्सले लामो समयदेखि नेपालको आन्तरिक हवाई क्षेत्रमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ। कम्पनीले विभिन्न विमानस्थलमा बिक्री कार्यालय तथा उडान केन्द्र विस्तार गर्नुका साथै अनलाइन बुकिङ प्रणालीमार्फत टिकट बिक्रीलाई समेत सहज बनाएको छ।
कम्पनीले विमान मर्मतसम्भारसम्बन्धी एएमओ प्रमाणपत्रसमेत प्राप्त गरेको छ। यसका कारण आफ्नै विमानको मर्मतसम्भार गर्नुका साथै अन्य वायुसेवा कम्पनीका विमानको मर्मतसम्बन्धी काम र सम्झौता लिन सक्ने भएकाले यसबाट थप नगद आम्दानीको अवसर सिर्जना भएको छ।
कम्पनीको पुँजी संरचना सुधारमा थपिएको २ अर्ब २७ करोड रुपैयाँ स्वपुँजीमध्ये केही रकम विमानका इन्जिनको मर्मतसम्भारमा समेत प्रयोग गरिएको छ। यसले ऋणभार घटाउनुका साथै विमानहरूलाई सञ्चालनमा उपलब्ध गराउन सहयोग पुगेको छ। कम्पनीको ऋण तिर्ने क्षमता मापन गर्ने डीएससीआर २०२५ को १.१३ गुणाबाट बढेर २०२६ मा १.८८ गुणा पुगेको छ।
यीनै वित्तिय सूचकका आधारमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यती एयरलाइन्सको रेटिङ ‘आईआरएन बीबीबी माइनस’ मा पुनः कायम गरेको छ। कम्पनीका दीर्घकालीन बैंक सुविधालाई ‘आईआरएन बीबीबी माइनस’, अल्पकालीन बैंक सुविधालाई ‘आईआरएन ए३’ तथा दीर्घकालीन/अल्पकालीन बैंक सुविधालाई ‘आईआरएन बीबीबी माइनस/ए३’ रेटिङ पुनः प्रदान गरिएको छ।
यता, आर्थिक वर्ष २०२६ मा बढेको हवाई इन्धनको मूल्यका कारण कम्पनीले यात्रु भाडामा समेत वृद्धि गरेको थियो। तर भाडा बढेपछि निर्धारित उडान संख्या करिब ६ प्रतिशत र यात्रु संख्या करिब ९ प्रतिशतले घटेको छ। यसले कम्पनीको आगामी वित्तीय प्रदर्शनमा दबाब पार्न सक्ने देखिएको छ।
कम्पनीको कुल सञ्चालन खर्चमा हवाई इन्धनको हिस्सा करिब ३२ प्रतिशत रहेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा हुने उतारचढाव, हवाई क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धा र यात्रु भाडा बढाउने सीमित क्षमताका कारण कम्पनीको सञ्चालन नाफामा आगामी दिनमा समेत दबाब रहन सक्नेछ।
यती एयरलाइन्सले २०२३ मा भएको विमान दुर्घटनापछि आफ्नो बजार हिस्सा गुमाएको थियो। आर्थिक वर्ष २०२३ मा कम्पनीको बजार हिस्सा करिब १७ प्रतिशतमा झरेको थियो भने आर्थिक वर्ष २०२४ मा दुई नयाँ विमान थपिएपछि तथा पर्यटन क्षेत्रमा सुधार आएपछि बजार हिस्सा पुनः बढेको थियो। त्यसयता कम्पनीले आफ्नो बजार स्थिति स्थिर राख्न सफल भएको छ।
कम्पनीको प्रवर्द्धक संरचनामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको २९.८५ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको १५.९६ प्रतिशत र चन्दा शेर्पाको १२.७९ प्रतिशत हिस्सा रहेको छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभव रहेको छ।
कम्पनीको करिब २ अर्ब १० करोड रुपैयाँ बराबरको प्रस्तावित प्राथमिक सेयर निष्कासनबाट प्राप्त हुने रकमले आगामी दिनमा कम्पनीको ऋण तथा स्वपुँजीको अनुपात अझ सुधार हुने अपेक्षा गरिएको छ।















