विनाशकारी बाढीले आर्थिक वृद्धिदर ३.७ मा झर्ने अनुमान, एआई प्रविधि बन्न सक्छ उत्थानको माध्यम
रसुवाको विनाशकारी बाढीको चपेटाले नेपालको आर्थिक वृद्धिलाई धक्का दिएको छ भने, यसैबीच विश्व बैंकले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) लाई माध्यम बनाएर अर्थतन्त्र उकास्ने नयाँ बाटो सुझाएको छ।
काठमाडाैँ । रसुवामा गएको विनाशकारी बाढीले मुलुकको अर्थतन्त्रमा गहिरो असर पार्ने देखिएको छ। उद्योग, ऊर्जा र यातायात क्षेत्रमा पुगेको अपूरणीय क्षतिकै कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त भएर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले औंल्याएको छ। .
भदौको महिनामा आएको त्यो बाढीले भौतिक संरचना मात्रै भत्काएन, मुलुकको आर्थिक गतिको सातो पनि खोसेको छ। यद्यपि, भग्नावशेषबाटै उठ्ने क्रममा थालिने पुनर्निर्माणका गतिविधिले भने आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई केही टेवा दिने र वृद्धिदर ५.२ प्रतिशतसम्म उक्लिने अनुमान गरिएको छ।
विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विपद्का घाउहरूलाई उधिन्दै अबको विकास यात्रा कस्तो हुनुपर्छ भन्ने स्पष्ट खाका कोरिएको छ। ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ भन्ने मूल मर्म बोकेको यो प्रतिवेदनले अबका दिनमा पुरानै ढर्राको निर्माण शैलीले काम नगर्ने प्रष्ट पारेको छ।
जलविद्युत् आयोजना, सौर्य ऊर्जा, प्रसारण लाइन र मुख्य सडकहरूमा पुगेको क्षतिले वस्तुको उत्पादन र आपूर्तिको चक्रलाई नै खल्बल्याइदिएको छ। पर्यटन, व्यापार र वित्तीय कारोबार जस्ता सेवा क्षेत्रहरू पनि यही बाढीको अवरोधबाट अछुतो रहन सकेका छैनन्।
कृषि क्षेत्रमा परेको प्रत्यक्ष असर केही सिमित क्षेत्रमा मात्र देखिए पनि यसले त्यहाँका बासिन्दाको जनजीविकालाई भने नराम्ररी प्रभावित पारेको छ।
बाढीले निम्त्याएको यो विपत्तिलाई नेपालले आफ्नो पूर्वाधार र विकास नीतिलाई पुनर्विचार गर्ने सुनौलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिइएको छ। जलवायु परिवर्तनले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै अब बन्ने सडक, ऊर्जा, खानेपानी र सञ्चारका संरचनाहरू अत्यधिक उत्थानशील हुनुपर्ने खाँचो औंल्याइएको छ।
राहत र उद्धारको चरण पार गरेर अब पुनर्निर्माणतिर लम्कँदा बहुविपद्को जोखिमलाई सुरुवातमै आकलन गर्ने परिपाटी बसाल्न सुझाइएको छ। आपοत्कालीन पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउनु र संकटमा परेका घरपरिवारलाई तत्काल राहत दिन एकीकृत सामाजिक सुरक्षाको जालो तयार पार्नु अहिलेको अर्को ठूलो आवश्यकता हो।
दक्षिण एसियाली क्षेत्रको समग्र आर्थिक परिदृश्यलाई हेर्दा भने क्षेत्रगत रूपमा मिश्रित चित्र देखिएको छ। यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर सन्तोषजनक रूपमा ६.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ। आन्तरिक मागमा आएको मजबुतीले गर्दा विश्व बजारका उतारचढावहरूलाई यो क्षेत्रले सफलतापूर्वक छेक्न सकेको देखिन्छ।
तर बाढी जस्ता प्राकृतिक प्रकोप र जलवायुजन्य जोखिमले अर्थतन्त्रलाई बेलाबेलामा झट्का दिइरहने भएकाले वैकल्पिक र आधुनिक माध्यमहरूको खोजी गर्नुपर्ने टड्कारो आवश्यकता महसुस हुन थालेको छ।
प्रविधिको प्रयोग र एआईको सम्भावना
यसै सन्दर्भमा, विश्व बैंकको प्रतिवेदनले आर्थिक वृद्धिलाई नयाँ गति दिन कृत्रिम बौद्धिकता अर्थात एआईको रणनीतिक प्रयोगलाई जोड दिएको छ। दक्षिण एसियाली मुलुकहरूमा एआईको प्रयोग विकसित देशहरूको तुलनामा अझै पछाडि छ भने, पछिल्लो समय यसको अभ्यास तीव्र गतिमा बढ्दै गएको छ।
व्यवसायिक फर्महरूले बजारका नयाँ सम्भावना र अवसरहरू पहिल्याउन यसको प्रयोग गर्न थालेका छन्। विश्वव्यापी मूल्य शृंखलासँग जोडिएर काम गर्ने यहाँका आपूर्तिकर्ताहरूका लागि एआई प्रविधि नयाँ ढोका खोल्ने बलियो माध्यम बन्न सक्छ।
विशेष गरी स्वास्थ्य, शिक्षा र कृषिका क्षेत्रमा दक्ष जनशक्तिको अभाव खट्किरहेको अवस्थामा सेवा प्रवाहलाई चुस्त बनाउन एआईको भूमिका महत्वपूर्ण हुन सक्नेछ। प्रविधिको यो पाटोले श्रमको उत्पादकत्व बढाउन, निर्यातका क्षेत्र फराकिलो पार्न र राज्यका सेवाहरूलाई पारदर्शी बनाउन ठूलो मद्दत गर्ने विश्वास लिइएको छ।
तर यसका लागि सरकारले डिजिटल पूर्वाधारको विकासमा ध्यान दिनुका साथै साना व्यवसायहरूले प्रविधि अपनाउँदा भोग्ने कठिनाइहरू हटाउन विशेष नीति ल्याउनुपर्ने देखिन्छ। तथ्यांकको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै स्पष्ट कानुनी दायरा तयार पार्न सके मात्रै प्रविधिको यो छलाङबाट वास्तविक लाभ लिन सकिनेछ।















