दशैँ यात्रा सहज बनाउन घटस्थापनादेखि पूर्णिमासम्मै देशभर रुट परमिट खुला
दशैँका बेला घर फर्कने यात्रुलाई सहज बनाउन यातायात व्यवस्था विभागले घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभरको रुट परमिट खुला गरेको छ।
काठमाडाैँ । दशैँका बेला घर फर्कने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन सरकारले देशभरका रुट परमिट खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले विभिन्न सरोकारवाला निकायसँगको छलफलपछि घटस्थापनादेखि पूर्णिमासम्मका लागि सार्वजनिक सवारीसाधनलाई लाग्दै आएको रुट परमिटको बन्देज हटाउने निर्णय गरेको हो।
यस वर्षको घटस्थापना आगामी असोज २५ गते परेको छ।
यात्रुहरूलाई लामो तथा मध्यम दूरीको यात्राका लागि टिकट काट्न सहज होस् भन्ने उद्देश्यले विभागले यसअघि नै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ।
दशैँको समयमा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुको चाप अत्यधिक हुने भएकाले यातायात व्यवसायी र प्रशासनबीचको समन्वयमा यो व्यवस्था मिलाइएको हो। रुट परमिट खुला भएपछि सवारीसाधनले तोकिएको रुटभन्दा बाहिर पनि सहज रूपमा यातायात सेवा दिन पाउनेछन्।
देशभर रुट परमिट खुला गरिएको भए पनि केही निश्चित सडकहरूको विशेष प्राकृतिक अवस्था र सुरक्षा जोखिमका कारण त्यहाँ चल्न निषेध गरिएका आकार र प्रकारका सार्वजनिक सवारीसाधनमाथिको प्रतिबन्ध भने यथावत् रहनेछ।
विभागले यात्रालाई सुरक्षित बनाउन चालक, यातायात व्यवसायी र यात्रु सबैलाई सडक सुरक्षाका नियमहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ।















