२१ आश्विन २०८३, बुधबार

एनआरएन लक्षित सेयर निष्कासनको बाटो खुल्यो, अब १० देखि ८५ प्रतिशतसम्म सेयर जारी गर्न पाइने



काठमाडौँ। नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली प्राथमिक सेयर बजारमा सहभागी गराउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (आठौं संशोधन) नियमावली, २०८३’ जारी गर्दै विदेशमा रहेका नेपाली लगानीकर्तालाई लक्षित सेयर निष्कासनको बाटो खुला गरेको हो।

संशोधित नियमअनुसार एनआरएनलाई लक्षित गरेर सेयर जारी गर्ने कम्पनीले आफ्नो कुल जारी पूँजीको कम्तीमा १० प्रतिशत र बढीमा ८५ प्रतिशतसम्म सेयर निष्कासन गर्न सक्नेछन्। यस व्यवस्थाले विदेशमा रहेका नेपालीबाट लगानी जुटाउन चाहने कम्पनीहरूलाई प्राथमिक सेयर बजारमार्फत पूँजी संकलन गर्ने थप विकल्प दिएको छ।

यद्यपि, एनआरएनका लागि छुट्टै निष्कासन गरिने सेयरमा प्रिमियम मूल्य तोक्न भने रोक लगाइएको छ। अर्थात् कम्पनीहरूले त्यस्तो सेयर अंकित मूल्यभन्दा बढी रकममा बिक्री गर्न पाउने छैनन्।

दोस्रो बजार कारोबारका लागि एनआरएनलाई छुट्टै व्यवस्था

त्यसैगरी, एनआरएनलाई लक्षित गरी जारी गरिएका सेयरको दोस्रो बजार कारोबार पनि छुट्टै प्रणालीमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ। धितोपत्र बजारले निर्धारण गर्ने प्रणालीअनुसार कारोबार हुने यी सेयरको न्यूनतम कारोबार इकाई १ हजार कित्ता कायम गरिएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गर्दै सरकारले नियमावलीमा उक्त संशोधन गरेको हो। नयाँ व्यवस्थाले विदेशमा रहेका नेपालीको लगानीलाई नेपालको पूँजी बजारसँग जोड्ने उद्देश्यलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।