नेपाललाई एआई ग्लोबल समिटमा निम्तो : सञ्चारमन्त्री तिमिल्सिनासँग स्विस अधिकारीको भेटवार्ता
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम)की वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले भेट गरी सूचना प्रविधि तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गरेकी छन्।
भेटवार्तामा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारविमर्श भएको हो।
सो अवसरमा मन्त्री तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्डबाट नेपालले प्राप्त गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा प्रविधि तथा सञ्चार क्षेत्रमा सहकार्यलाई अझ फराकिलो बनाउन नेपाल इच्छुक रहेको बताएका थिए।
छलफलका क्रममा डिजिटल सुरक्षा, सार्वभौमिकता र डिजिटल अखण्डताका साथै सूचना प्रविधिको तीव्र विकासबाट नेपालले लिन सक्ने सम्भावित लाभबारे पनि कुराकानी भएको थियो। मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै प्रविधि क्षेत्रमा लगानीका लागि आवश्यक वातावरण क्रमश: सहज बन्दै गएको बताए।
नेपाललाई एआई ग्लोबल समिटमा निम्तो
भेटका क्रममा वरिष्ठ नीति सल्लाहकार लोइसले जुन २१ र २२, २०२७ मा स्विट्जरल्यान्डको जेनेभामा हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएकी थिइन्।
समिटका क्रममा नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाका प्राथमिकताबारे समेत जानकारी लिइएको बताइएको छ। भेटवार्तामा ‘फ्रिडम अनलाइन कोलिसन’मा नेपालको सम्भावित सहभागिता र पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो।
हाल ४२ सदस्य राष्ट्र आबद्ध रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि सदस्य राष्ट्रबीच सहकार्य गर्दै आएको छ।

















