२१ आश्विन २०८३, बुधबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा



काठमाडौँ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाराजगञ्जस्थित निवासमा छापा मारेको छ।

बुधबार विभागको टोलीले जबरासँग निकट सम्बन्ध रहेका भनिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका निवासमा अनुसन्धान गरेपछि महाराजगञ्ज पुगेर जबराको घरबाट समेत आवश्यक कागजात तथा प्रमाण संकलन गरेको हो।

यसअघि सरकारले सुरक्षा जोखिमलाई कारण देखाउँदै गत साता जबरालाई महाराजगञ्जस्थित निवासबाट प्रहरी नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर केही समय हिरासतमा राखी सोधपुछ गरिएको थियो।

जबरालाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको मोबाइल फोनसमेत आफ्नो नियन्त्रणमा लिएर त्यसमा भएका गतिविधिबारे अनुसन्धान अघि बढाएको बताइएको छ। साथै, जबरासँग सम्पर्कमा रहेका विभिन्न व्यक्ति र उनीहरूसँग भएका गतिविधिमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ।