२२ आश्विन २०८३, बिहिबार

इन्टरनेट प्याकेज महँगिँदा टेलिकमकै भर, विपन्न वर्ग डिजिटल पहुँचबाट वञ्चित हुने जोखिम



काठमाडौँ। पछिल्लो समय इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले सस्तो मूल्य र कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेसँगै आम उपभोक्तामाझ इन्टरनेट महँगो हुनेबारे चिन्ता बढेको छ। गत सोमबारदेखि नै सस्तो दरका योजनाहरू धान्न नसकिने भन्दै निजी प्रदायकहरूले यस्तो कदम चालेका हुन्।

मध्यपूर्वको तनावका कारण उकालो लागेको इन्धनको मूल्य, फाइबरको लागत वृद्धि, चर्को मुद्रास्फीति तथा कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै इलेक्ट्रोनिक चिपसेटको भाउ बढेकाले सेवा सञ्चालन गर्नै मुस्किल परेको तर्क सङ्घको छ।

यस निर्णयले दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको इन्टरनेट पहुँचबाट विशेषगरी न्यून आय भएका वर्ग वञ्चित हुने हुन् कि भन्ने आशङ्का फैलिएको छ।

टेलिकमले शुल्क नबढाउने

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का प्रवक्ता डा. कमल लामिछानेले भने टेलिकमका ग्राहकहरूले पाइरहेका सबै सेवा र प्याकेजहरू बिनाकुनै अवरोध निरन्तर जारी रहने प्रस्ट पारेका छन्। हाललाई मूल्य बढाउने कुनै योजना नरहेको र टेलिकमका दरहरू बजारमा निकै सुलभ रहेको उनको भनाइ छ।

अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले वार्षिक तथा दुई बार्षिक प्याकेजहरू निकै किफायती मूल्यमा उपलब्ध गराउँदै आएको छ। फाइबर इन्टरनेट जडान गर्ने ग्राहकहरूले मोबाइलमा दैनिक ६०० एमबीदेखि १ हजार एमबीसम्मको डाटा नि:शुल्क पाउँदै आएका छन्। यसबाहेक एक महिने र तीन महिने प्याकेजहरू पनि सुचारु छन्।

प्रवक्ता लामिछानेका अनुसार दुई वर्षको प्याकेज एकमुष्ठ लिने ग्राहकले वार्षिक प्याकेजको तुलनामा करिब १५ प्रतिशतसम्मको विशेष छुट समेत प्राप्त गर्न सक्छन्।

डिजिटल डिभाइडको जोखिम

आधुनिक युगमा शिक्षा, रोजगारी, स्वास्थ्य र सरकारी सेवाहरू समेत अनलाइनमय भइसकेको अवस्थामा इन्टरनेट अब विलासिता नभई आधारभूत आवश्यकता बनिसकेको छ। निजी क्षेत्रका सेवा प्रदायकहरूले सुपथ मूल्यका साना प्याकेजहरू खारेज गरेसँगै दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र निम्नमध्यम वर्ग प्रत्यक्ष मारमा पर्ने देखिएका छन्।

महँगीको मार झेल्दै गरेका न्यून आय भएका नागरिकका लागि मासिक वा वार्षिक महँगा प्याकेजहरू एकमुष्ठ तिर्न कठिन हुने हुँदा उनीहरू पूर्ण रूपमा डिजिटल पहुँच वा सूचनाको सञ्जालबाटै बाहिरिने गम्भीर जोखिम उत्पन्न भएको छ। यस्तो संवेदनशील बेलामा नेपाल टेलिकमले आफ्ना सस्तो दरका प्याकेजहरू नबढाउने घोषणा गर्नुले आर्थिक रूपले कमजोर वर्गलाई ठूलै राहत दिएको छ।