कुथेली बुखरी हाइड्रोपावरको ऐतिहासिक छलाङ, लाभांश घोषणामा अहिलेसम्मकै उच्च रेकर्ड
अघिल्ला वर्षहरूको तुलनामा लगानीकर्ताको मुनाफामा आकर्षक छलाङ मार्दै कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांशको नयाँ रेकर्ड कायम गरेको छ।
काठमाडाैँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि अहिलेसम्मकै आकर्षक लाभांश प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १८.९४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै कम्पनीले स्थापनाकालदेखि नै आफ्ना शेयरधनीहरूको लगानीमा उल्लेखनीय प्रतिफल दिन सफल हुँदै आएको छ।
कम्पनीले हाल कायम रहेको १४ करोड ७४ लाख ५९ हजार रुपैयाँ चुक्तापूँजीलाई आधार बनाएर लाभांशको यो परिमाण निर्धारण गरेको हो। जसअनुसार शेयरधनीले १८ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने कर प्रयोजनका लागि शून्य दशमलव ९४ प्रतिशत नगद लाभांशको व्यवस्था गरिएको छ। यो प्रस्ताव पारित भएपछि लगानीकर्ताको हातमा जाने पूँजी अझ बलियो बन्ने निश्चित छ।
सञ्चालक समितिले पारित गरेको यो लाभांश प्रस्ताव अब नियामक निकाय विद्युत नियमन आयोगको स्वीकृतिमा निर्भर रहनेछ। आयोगबाट हरी झण्डा पाएपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा यो प्रस्ताव पेस गर्नेछ। साधारण सभाबाट औपचारिक रूपमा अनुमोदन भएलगत्तै शेयरधनीले यो ऐतिहासिक प्रतिफल प्राप्त गर्नेछन्।
यो जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८०/८१ देखि मात्र साधारण शेयरधनीलाई लाभांश वितरण गर्न थालेको हो। त्यसयताका सुरुवाती दुई आर्थिक वर्षमा कम्पनीले लगातार १० दशमलव ५२ प्रतिशतका दरले लाभांश दिएको थियो। तर, यसपटक भने अघिल्ला वर्षहरूको तुलनामा लाभांशको दर करिब दोब्बर नजिक पुगेको छ। यसले कम्पनीको आर्थिक क्षमता बलियो बन्दै गएको र लगानीकर्ताको आकर्षण थप बढ्ने स्पष्ट संकेत गरेको छ।















