२२ आश्विन २०८३, बिहिबार

नेपालको स्पा तथा वेलनेस क्षेत्रका लागि ऐतिहासिक उपलब्धि : ट्र्यान्क्विलिटी स्पाले पायो आईएसपीएको सदस्यता



काठमाडौं। नेपालमा स्पा तथा वेलनेस क्षेत्रलाई व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने उद्देश्यका साथ सक्रिय ट्र्यान्क्विलिटी स्पाले विश्वव्यापी रूपमा प्रतिष्ठित इन्टरनेशनल स्पा एसोसिएसन (आईएसपीए)को सदस्यता प्राप्त गरेको छ।

नेपालभर करिब २० वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आएको ट्र्यान्क्विलिटी स्पाका लागि यो सदस्यता एउटा महत्वपूर्ण उपलब्धि मात्र नभई नेपालको सम्पूर्ण स्पा तथा वेलनेस उद्योगका लागि पनि गर्वको विषय हो। हालसम्म नेपालबाट आईएसपीएको सदस्यता प्राप्त गर्ने पहिलो र एकमात्र स्पाका रूपमा ट्र्यान्क्विलिटी स्पा स्थापित भएको छ।

आईएसपीए विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, व्यावसायिक संस्था र विज्ञहरूलाई जोड्ने अन्तर्राष्ट्रिय संस्था हो। यसको सदस्यताले ट्र्यान्क्विलिटी स्पालाई विश्वका विभिन्न देशमा विकसित भएका अन्तर्राष्ट्रिय अभ्यास, मापदण्ड, ज्ञान, अनुसन्धान, व्यावसायिक दस्तावेज तथा नवीनतम प्रविधि र प्रवृत्तिहरूसँग थप नजिकबाट जोडिने अवसर प्रदान गर्नेछ।

यस सदस्यतामार्फत ट्र्यान्क्विलिटी स्पाले आफ्ना सेवा तथा सञ्चालन प्रणालीलाई निरन्तर अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दै सुधार गर्ने, नयाँ ज्ञान तथा सीप हासिल गर्ने र आफ्ना कर्मचारी तथा व्यवसायिक साझेदारहरूलाई अझ उच्चस्तरीय प्रशिक्षण र अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।

ट्र्यान्क्विलिटी स्पाका संस्थापक सुरेश पुरीले भने, “यो ट्र्यान्क्विलिटी स्पाका लागि मात्र नभई नेपालको सम्पूर्ण स्पा तथा वेलनेस उद्योगका लागि गर्वको क्षण हो। हामीले अन्तर्राष्ट्रिय स्तरबाट सिकेका ज्ञान, अभ्यास र अनुभवलाई नेपालमा भित्र्याउँदै हाम्रो उद्योगलाई अझ व्यवस्थित, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन योगदान गर्नेछौं।”

नेपालमा वेलनेस पर्यटनको सम्भावना बढ्दै गएको र सरकारले वेलनेस इयर २०२७ घोषणा गरेको सन्दर्भमा यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।