आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्स बीच क्रिकेट खेललाई महत्वपूर्ण खेलको रुपमा विकास, खेलाडीको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात जनकपुर बोल्ट्ससँग आवद्ध नेपाली खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूको खेलसमय अवधिमा आवश्यक बीमा गरिनेछ । साथै जनकपुर बोल्ट्सले आफ्नो संस्था र संस्थासँग आवद्ध व्यक्तिहरुको सबै बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग गर्नेछ ।
यस सहकार्यबाट आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सको सहकार्यबाट क्रिकेट खेलाडीहरुको विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । यस सहकार्य अन्तर्गत दुवै संस्थाले आफ्नो–आफ्नो क्षेत्रको विशेषज्ञता, पहुँच र स्रोतको उपयोग गर्दै पारस्परिक हितका विभिन्न गतिविधिहरूमा सहकार्य गर्नेछन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको खेल क्षेत्रमा कम्पनीले समय समयमा आफ्नो सहभागिता जनाई रहेको र सोलाई भविष्यमा पनि निरन्तरता दिने जानकारी गराए। क्रिकेट, भलिवल, फुटवल, अन्तरसंस्था तथा नियमकारी निकायसँगको सहकार्यमा फुटसल लगायत विभिन्न खेलहरुमा कम्पनीको सक्रिय सहभागिता रहंदैँ आएको उनको भनाइ छ।
साथै नेपालको ऐतिहासिक र गौरवशाली क्लब–जनकपुर बोल्ट्ससँग सहकार्य गरी खेलाडीहरुको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकास र विस्तारमा सहभागी हुन पाएकोमा गौरवान्वित महसुस भएको उनले बताए। उक्त कार्यक्रममा श्रेष्ठले दुवै संस्था बिचको सहकार्य निरन्तर रहि रहने प्रतिवद्धता व्यक्त गर्दै खेलकुद त्यसमा पनि क्रिकेट आफ्नो व्यक्तिगत रुपमा पनि रुचीको विषय भएको र जनकपुर बोल्ट्स जस्तो गरिमामय संस्थासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे। नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गर्दै आएको उल्लेखनीय प्रगतिलाई थप प्रोत्साहन गर्ने उद्देश्यले जनकपुर बोल्ट्ससँगको यो सहकार्य अघि बढाइएको हो ।
सोही कार्यक्रममा जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले क्रिकेट खेलको विकास र विस्तारको लागि खेलाडीहरुको विकासमा सहयोग गर्नु भएकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण आइजीआई प्रुडेन्सियल परिवार प्रति कृतज्ञता व्यक्त गर्दै यस सहकार्यले खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
















