चिनियाँले बूढानीलकण्ठमा चलाएकाे ‘सुन फ्याक्ट्री’मा प्रहरीकाे छापा, २१ किलाे सुन सहित सबै चिनियाँ नागरिक गिरफ्तार
बूढानीलकण्ठको एक घरभित्र च्यानल गेट र सीसीटीभीको पहरामा सञ्चालित अवैध सुन प्रशोधन केन्द्रमा प्रहरीले छापा मार्दै २१ किलो सुन र आधुनिक उपकरणसहित चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ।
काठमाडाैँ । राजधानीको बूढानीलकण्ठ क्षेत्रमा तस्करहरूले घर भाडामा लिएर लामो समयदेखि सुनको अवैध धन्दा चलाइरहेको रहस्य खुल्न आएको छ।
विशेष सूचनाका आधारमा खटिएको नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार साँझ सो क्षेत्रको साढे दुई तले घरमा छापा मार्दै करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी टोली घरभित्र पुग्दा उनीहरूले सुन गाल्ने काम गरिरहेका थिए। अचानक प्रहरी पुगेपछि उनीहरूलाई नियन्त्रणमा लिने क्रममा केहीबेर सामान्य धक्कामुक्कीसमेत भएको स्रोतले जानकारी दिएको छ।
तस्करहरूले उक्त घरलाई निकै व्यवस्थित र सुरक्षित रूपमा प्रयोग गरेको पाइएको छ। उनीहरूले सुरक्षाका लागि घरमा च्यानल गेट र सीसीटीभी क्यामेरासमेत जडान गरेका थिए। प्रहरीले पक्राउ परेकाहरूको कोठा खानतलासी गर्दा सुन गाल्ने, गुणस्तर जाँच्ने र विभिन्न आकारमा ढाल्ने अत्याधुनिक उपकरणहरू पनि ठूलो संख्यामा बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले ठोस र तरल दुवै स्वरूपमा सुन भित्र्याउने गरेको खुल्न आएको छ। यसरी ल्याइएको सुनलाई आवश्यकता अनुसार विभिन्न आकारमा ढालेर बजारमा आपूर्ति गर्ने गरिएको प्रहरीको दाबी छ।
पक्राउ परेका चिनियाँ नागरिकहरूले यो अवैध कारोबारका लागि सुन कुन नाकाबाट नेपाल भित्र्याएका थिए र यहाँबाट कसलाई आपूर्ति गर्ने गरेका थिए भन्ने विषय अझै खुल्न बाँकी छ। यो र्याकेटमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशङ्कामा प्रहरीले आफ्नो दायरा फराकिलो पारेको छ।
बरामद गरिएको सुनको वास्तविक परिमाण र गुणस्तर यकिन गर्न अहिले गुणस्तर तथा नापतौल विभागका प्राविधिकहरूसँगै सुनचाँदी व्यवसायीका प्रतिनिधिहरूको रोहबरमा परीक्षण भइरहेको छ।
प्रहरीले यस घटनासँग जोडिएका सबै तथ्य, पक्राउ परेका चिनियाँ नागरिकहरूको परिचय र बरामद भएको सुनको विस्तृत विवरण खुलाउँदै छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।
















