उखु किसानलाई १ अर्ब ५० करोड बढी अनुदान वितरण गरिने
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ। सरकारले उखु खेती गर्ने किसानलाई प्रोत्साहन गर्न उक्त अनुदान उपलब्ध गराउने भएको हो।
कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले किसानलाई अनुदान वितरण गर्ने प्रक्रियासम्बन्धी कार्यविधि स्वीकृत गरेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।
सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई प्रतिक्विन्टल रु. ७० का दरले अनुदान दिँदै आएको छ।
















