यसपालिकाे दशैँ रमाइलाे र घमाइलाे बन्ने माैसमविद्काे अनुमान
चाडपर्वको संघारमा देखिएको मौसमी फेरबदलका बीच यसपटकको दशैँ घमाइलो र रोमाञ्चक हुने मौसमविद्हरूको प्रारम्भिक आकलन छ।
काठमाडाैँ । आउँदो आइतबार घटस्थापनाको शुभ साइतसँगै नेपालीको घरआँगनमा बडादशैँ भित्रिँदैछ। सहरदेखि गाउँसम्म सडकमा भीडभाड बढेको छ । ठाउँठाउँमा पिङ थाप्काने तयारी चल्दै छ । तर, आकाशमा घरीघरी मडारिने कालो बादलले भने धेरैको मनमा यो वर्षको दशैँ कस्तो पो हुने हो भन्ने कौतुहलता जगाएको छ।
केही दिनयता भइरहेको वर्षा र बदलीले उत्साहमा केही चिसो पारे जस्तो देखिन्छ । कतै याे पाली पनि हिले दशैँ पाे हुने हाे कि भन्ने त्रास पनि कतिपयलाइ छ । तर यसपटकको दशैँ उज्यालो र घमाइलो हुने बलियो सम्भावना छ। क्षणिक रूपमा देखिने मौसमी फेरबदलले केही ठाउँमा झरी ल्याए पनि समग्रमा यो चाडको रौनकतालाई कुनै बाधा नपुर्याउने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै, हिमाली तथा पहाडी भेगका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने अनुमान छ। मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको यो क्रम आजका लागि मात्रै लक्षित रहेको महाशाखाले जनाएको छ।
पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिबाट भने ठूलो पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने र उघ्रिने अनुमान गरिएको छ। पश्चिमी वायु र मनसुनी प्रभावको यो संयुक्त असर लामो समय नटिकाउने भएकाले चाडपर्वमा रमाइलो गर्न चाहनेहरूका लागि यो खुसीको खबर बनेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले सक्रिय रहेको पश्चिमी वायुको प्रभाव लामो समयसम्म टिकिरहने छैन। यही कारणले गर्दा यसपटकको दशैँ घमाइलो र रोमाञ्चक हुने सम्भावना धेरै रहेको छ। अर्को नयाँ मौसमी प्रणाली तत्काल नआएसम्म दशैँमा पानी नपर्ने उहाँले बताए।
यद्यपि, यसपालिको मौसमी प्रणाली केही अनिश्चित र परिवर्तनशील देखिएकाले दशैँसम्मको सटीक पूर्वानुमान अहिले नै गरिहाल्न कठिन भएको पनि उहाँले बताएका छन्।
केही दिनयता देशको पूर्वी र मध्य भेगमा मनसुनी वायु तथा पश्चिमी भेगमा पश्चिमी वायु सक्रिय रहेको छ। पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिसकेको छ भने मध्य र पूर्वी भेगबाट पनि केही दिनमै यो प्रणाली बाहिरिने सम्भावना छ। यद्यपि, मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले गर्दा छिटपुट पानी पर्ने गर्छ।
चाडपर्वका बेला आफन्तकोमा जाने र लामो दूरीको यात्रा गर्नेको लर्को लाग्ने गर्छ। टाढाको यात्रा गर्दा मौसमको ताजा जानकारी लिएर र आफ्नो ठाउँको अवस्था बुझेर मात्रै निस्किन मौसमविद् पोखरेलले सुझाव दिएका छन्।
















