३ महिनापछि बजेट ल्याउँदै सुदूरपश्चिम सरकार, प्रदेशका नियमित कामकाजले गति लिने अपेक्षा
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। बजेटका विषयमा निर्णय लिन दिउँसो १ बजेर ३० मिनेटमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो।
बैठकपछि दिउँसो २ बजे प्रदेशसभामा बजेट पेस गरिने सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिए। उनका अनुसार आज निर्धारित समयमा बजेट प्रस्तुत हुनेछ। यसअघि अघिल्लो सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै प्रदेश बजेटविहीन अवस्थामा रहँदै आएको छ।
बजेट अभावका कारण सरकारी कामकाज, विकास आयोजना तथा नागरिकलाई प्रदान गरिने सेवामा असर परेको छ। स्वास्थ्य संस्थाहरूमा समेत औषधिको अभाव देखिन थालेको छ।
बजेट प्रस्तुत गर्ने विषयमा सरकारभित्रै सहमति जुट्न नसक्दा र विवाद उत्पन्न हुँदा प्रदेशसभा बैठकसमेत पटक–पटक प्रभावित भएको थियो। आज बजेट प्रस्तुत हुने भएपछि लामो समयदेखि कायम बजेटसम्बन्धी अन्योल अन्त्य हुने र प्रदेशका नियमित कामकाजले गति लिने अपेक्षा गरिएको छ।

















