२६ आश्विन २०८३, सोमबार

दसैँका लागि गाउँ फर्किनेको लर्को, पछिल्ला ९ दिनमा २ लाखभन्दा बढीले छाडे उपत्यका



काठमाडौं। बडादसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौं छाडेर आफ्नो जन्मथलो फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ। अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू परिवारसँग दसैँ मनाउन घर फर्किन थालेपछि नयाँ बसपार्कमा यात्रुको चहलपहल बढेको हो।

नयाँ बसपार्कबाट देशका विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। दसैँको अवसरमा परिवार र आफन्तसँग भेटघाट गर्ने उद्देश्यले राजधानीमा रहेका मानिसहरू गाउँ फर्किने क्रम तीव्र बनेको हो।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्मको नौ दिनमा मात्रै नयाँ बसपार्क हुँदै दुई लाख सात हजार २५१ यात्रु काठमाडौं बाहिरिएका छन्।

उनले उपलब्ध गराएको विवरणअनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६ र २० गते २९ हजार ६०२ यात्रुले काठमाडौं छाडेका थिए। त्यस्तै, असोज २१ गते २२ हजार २८८, २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रु बाहिरिएका थिए।

यात्रु व्यवस्थापनमा कठिनाइ

यात्रुको चाप बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थपिएको यातायात व्यवसायीहरूले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यात्रु ओसारपसार सहज हुन नसकेको बताए।

गौतमका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदी क्षेत्रमा पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन प्रभावित भएको थियो। सडक अवरुद्ध हुँदा काठमाडौं बाहिरिनुपर्ने धेरै सवारीसाधन राजधानीमै रोकिएकाले यात्रु व्यवस्थापनमा थप कठिनाइ भएको उनले बताए।

यसैबीच, महासङ्घले यात्रुहरूलाई आधिकारिक रूपमा टिकट खरिद गरेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादरअनुसार रकम तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

दसैँलाई परिवार र आफन्तसँग पुनर्मिलन हुने प्रमुख चाडका रूपमा लिइन्छ। यही कारण रोजगारी, अध्ययन तथा अन्य कामका लागि राजधानीमा बसोबास गर्ने मानिसहरू हरेक वर्ष दसैँको समयमा आफ्नो घर फर्किने गर्छन्। यस वर्ष पनि चाडपर्व नजिकिएसँगै काठमाडौंका बसपार्कहरूमा यात्रुको चाप बढ्दै गएको छ।