स्टेलान्टिस र टाटा मोटर्सबीच प्रविधि र सवारीसाधन विकासमा सहकार्य विस्तार
काठमाडाैं । भारतको स्टेलान्टिस र टाटा मोटर्स प्यासेन्जर भेहिकल्सले उन्नत प्रविधि तथा सवारीसाधन विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। दुवै कम्पनीले उत्पादन प्रविधि र सवारीसाधनको संरचनामा सहकार्य गर्ने सम्बन्धमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन्।
भारतको मुम्बई र पुणेमा १२ अक्टोबर २०२६ मा घोषणा गरिएको सम्झौतामा टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड (टीएमपीभी), यसको सहायक कम्पनी टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टीपीईएम) र स्टेलान्टिस इन्डिया सहभागी छन्। यसले सन् २०२६ फेब्रुअरीमा भएको समझदारीपत्रबाट अघि बढेको दुई कम्पनीबीचको दीर्घकालीन साझेदारीलाई थप विस्तार गरेको छ।
सम्झौताअनुसार टाटा मोटर्सले स्टेलान्टिसलाई आफ्नो उन्नत उत्पादन प्रविधि र सवारीसाधनको संरचनामा पहुँच दिनेछ। स्टेलान्टिसले भारतमा रहेको आफ्नो उत्पादन विकास तथा इन्जिनियरिङ क्षमताको उपयोग गर्दै ती प्रविधिमा आधारित सवारीसाधन विकास गर्नेछ। यस्ता सवारीसाधन ५० भन्दा बढी अन्तर्राष्ट्रिय बजारका ग्राहकको आवश्यकता, सम्बन्धित देशका नियम तथा सञ्चालन अवस्थाअनुसार तयार पारिनेछन्।
सम्झौताअन्तर्गत विकास गरिने सवारीसाधन भारतमै उत्पादन हुनेछन्। त्यसका लागि टाटा मोटर्स र स्टेलान्टिसको ५०–५० प्रतिशत स्वामित्व रहेको संयुक्त लगानीको कम्पनी फियाट इन्डिया अटोमोबाइल्स प्राइभेट लिमिटेड (एफआईएपीएल) को उत्पादन क्षमताको उपयोग गरिनेछ।
यसअघि दुवै कम्पनीले सन् २०२६ फेब्रुअरीमा भारत र विदेशमा उत्पादन, इन्जिनियरिङ तथा आपूर्ति शृङ्खलाका क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने समझदारी गरेका थिए। अहिलेको अन्तिम सम्झौताले त्यसलाई उत्पादन प्रविधि र सवारीसाधनको संरचना विकासमा केन्द्रित ठोस सहकार्यमा परिणत गरेको छ।
भारतको प्रतिस्पर्धी इन्जिनियरिङ क्षमता र ठूलो उत्पादन आधारलाई उपयोग गर्दै सहकार्यले सवारीसाधन निर्यात विस्तार गर्ने लक्ष्य राखेको छ। यसबाट भारतलाई विश्वव्यापी उत्पादन सञ्जालको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न पनि सहयोग पुग्ने कम्पनीहरूको अपेक्षा छ।
टाटा मोटर्स प्यासेन्जर भेहिकल्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शैलेश चन्द्रले स्टेलान्टिससँगको साझेदारी दुई दशकभन्दा लामो समयदेखि आपसी विश्वास र एकअर्काका पूरक क्षमताका आधारमा अघि बढिरहेको बताए। उनका अनुसार नयाँ सम्झौता साझेदारीलाई उन्नत सवारी प्रविधि र संरचना विकाससम्म विस्तार गर्ने महत्त्वपूर्ण कदम हो।
टाटा मोटर्सको प्रविधि र सवारीसाधनको संरचना विकाससम्बन्धी क्षमताको प्रतिस्पर्धात्मकता यस सम्झौताले प्रतिबिम्बित गरेको चन्द्रले बताए। स्टेलान्टिसले ती क्षमताको उपयोग गरी विश्व बजारका लागि सवारीसाधन विकास गर्नेमा आफूहरू उत्साहित रहेको उनको भनाइ छ।
“दुवै कम्पनीका आ–आफ्ना क्षमतालाई एकै ठाउँमा ल्याएर भारतमै विकास र उत्पादन गरिएका आकर्षक सवारीसाधन भारत तथा विश्वभरका ग्राहकसम्म पुर्याउने अवसर हामीसँग छ,” चन्द्रले भने।
स्टेलान्टिसको एसिया–प्रशान्त क्षेत्रका प्रमुख सञ्चालन अधिकृत तियान्सु सिनले एसिया–प्रशान्त क्षेत्रमा मूल्य सिर्जना गर्ने कम्पनीको रणनीतिमा साझेदारी महत्त्वपूर्ण रहेको बताए। टाटा मोटर्सको भारतस्थित बलियो क्षमतालाई स्टेलान्टिसको विश्वव्यापी उत्पादन विकास र बजार पहुँचसँग जोड्दा प्रतिस्पर्धी सवारीसाधन विकास गर्न तथा अन्तर्राष्ट्रिय बजारमा निर्यातको सम्भावना विस्तार गर्न मद्दत पुग्ने उनको भनाइ छ।
उनका अनुसार सम्झौताले स्टेलान्टिसका लागि भारतलाई रणनीतिक उत्पादन तथा विकास केन्द्रका रूपमा स्थापित गर्ने भूमिकालाई पनि थप बलियो बनाउँछ।
स्टेलान्टिससँग १४ वटा चर्चित सवारी ब्रान्डको समूह छ। कम्पनीको युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, मध्यपूर्व, अफ्रिका तथा एसिया–प्रशान्त क्षेत्रमा उपस्थिति छ। विश्वव्यापी उत्पादन विकास, इन्जिनियरिङ र बजारसम्बन्धी अनुभव भएको स्टेलान्टिसको क्षमतालाई टाटा मोटर्सको प्रविधिसँग जोड्दा भारतमै सवारीसाधन विकास र उत्पादन गरी विश्व बजारमा पुर्याउने आधार तयार हुने कम्पनीहरूको विश्वास छ।

















