चङ्गन-क्याटलको एभटरद्वारा २०२६ को पेरिस मोटर शोमा फ्ल्यागसिप ‘टी०९’ कन्सेप्ट सार्वजनिक
हुवावे, चङ्गन र क्याटलको अत्याधुनिक प्रविधिले सुसज्जित एभटरको नयाँ फ्ल्यागसिप ‘टी०९’ कन्सेप्टले पेरिस मोटर शोमा सबैको ध्यान खिचेको छ।
काठमाडाैँ । गत शुक्रवार एभटरले २०२६ को पेरिस मोटर शोमा आफ्नो बहुप्रतिक्षित कन्सेप्ट गाडी ‘टी०९’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीको नयाँ फ्ल्यागसिप शृङ्खलाअन्तर्गत पहिलो मोडलका रूपमा आएको यो गाडीलाई एकदमै नयाँ डिजाइनमा तयार पारिएको छ ।
जसमा चङ्गन, हुवावे र क्याटलका अत्याधुनिक प्रविधिहरू मिसाइएको छ। यस गाडीलाई ५ लाख युआन (करिब १ कराेड १५ लाख रूपैयाँ) सम्मको विलासी एसयूभी बजारमा मुख्य प्रतिस्पर्धीका रूपमा उभ्याइएको छ भने यसको आधिकारिक बजार बिक्री २०२६ देखि सुरु हुनेछ।
अक्टोबर १२ देखि १८ सम्म सञ्चालन हुने यस पेरिस मोटर शोमा टी०९ कन्सेप्टलाई एभटर ०६ टी र ०७ एल मोडलहरूसँगै प्रदर्शनमा राखिएको छ।
आदरपूर्ण विलासिताको अवधारणा
एभटर टेक्नोलोजीका अध्यक्ष चेन जुओले टी०९ को आगमनसँगै अब एभटरले दुईवटा छुट्टाछुट्टै उत्पादन शृङ्खलाहरू प्रस्तुत गर्ने बताएका छन्। उनका अनुसार सहज विलासिता, भव्यता र स्पोर्टी अत्याधुनिक डिजाइनले भरिएको ‘डिजिटल’ शृङ्खला र आदरपूर्ण विलासिता, प्रतिष्ठा तथा बलियो प्रभावले युक्त ‘फ्ल्यागसिप’ शृङ्खला कम्पनीका प्रमुख आधार हुन्।
यी दुई डिजाइन शृङ्खला भए पनि एभटरको ब्रान्ड र मौलिकताप्रतिको प्रतिबद्धता सधैँ एकै रहने उनले प्रस्ट पारेका छन्।
त्यस्तै, एभटरका कार्यकारी उपाध्यक्ष तथा मुख्य डिजाइनर नादेर फाघिहजादेहले एभटर भिजन एक्सपेक्ट्राले हाम्रो परिकल्पनाको स्वतन्त्रतालाई झल्काउने बताएका छन्। टी०९ कन्सेप्टले यसै दर्शनलाई शान्त, आत्मविश्वासी र आदरणीय रूपमा प्रस्तुत गर्दै हाम्रो सहज विलासिताको दायरालाई अझ फराकिलो बनाएर आदरपूर्ण विलासिताको क्षेत्रसम्म विस्तार गरेको उनको भनाइ छ।
डिजाइन र प्रविधि
टी०९ कन्सेप्टमा नयाँ भिजन एक्सपेक्ट्रा डिजाइन भाषा प्रयोग गरिएको छ। यस गाडीको अगाडिको भागमा विभिन्न उचाइका ३६२ वटा छुट्टाछुट्टै एभटर लोगोका आकृतिहरू समेटिएको आकर्षक ग्रिल राखिएको छ। गाडीमा डबल-लेयर डायमण्ड-कटिङ प्रविधि प्रयोग गरिएका क्रिस्टल-एरे लाइटिङ युनिटहरू र २.१ वर्ग मिटरको विशाल क्ल्यामशेल हुड जडान गरिएको छ।
गाडीको भित्री क्याबिनमा ‘भोर्टेक्स’ भावनात्मक अन्तरक्रिया प्रणाली जडान गरिएको छ जसले ३६० डिग्रीमा दुई चरणमा घुम्ने र खुम्चिन सक्ने सहज डिजाइन प्रस्तुत गर्दछ र यसमा ११३ वटा आरजीबी एलइडी म्याट्रिक्स बत्तीहरू जडान गरिएका छन्।
ककपिटमा चालकका लागि १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर तथा केन्द्र कन्सोल र अगाडि बस्ने यात्रुका लागि दुईवटा १७.२ इन्चका डिस्प्लेहरू सहितको इमर्सिभ ट्रिपल-स्क्रिन सेटअप राखिएको छ।
क्षमता
टी०९ लाई हालसम्मकै सर्वाधिक उन्नत प्रविधियुक्त उत्पादन मोडलको रूपमा वर्णन गरिएको छ। यसमा हुवावेको क्वियानकुन इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नयाँ ताइहाङ इन्टेलिजेन्ट कन्ट्रोल प्रविधि समाहित गरिएको छ।
यस गाडीमा २.० लिटरको इन्जिन र ट्रिपल-मोटर डिस्ट्रिब्युटेड इलेक्ट्रिक ड्राइभसहितको इन्टेलिजेन्ट सुपर-हाब्रिड पावरट्र्रेन प्रणाली प्रयोग गरिएको छ जसको कुल प्रणालीगत शक्ति १००० हर्सपावरभन्दा बढी रहेको छ। यसका साथै गाडीमा क्याटलको ७१.२४ किलोवाट आवर क्षमताको फ्रीभोय सुपर एक्सटेन्डेड-रेन्ज हाइब्रिड ब्याट्री जडान गरिएको छ।
यसले चीनको सीएलटीसी मापदण्डअनुसार ४०० किलोमिटरभन्दा बढीको शुद्ध विद्युतीय ड्राइभिङ रेञ्ज प्रदान गर्नेछ।
वैश्विक विस्तार
एभटरले आफ्नो अन्तर्राष्ट्रिय बजारलाई विश्वका ७० वटा देश तथा क्षेत्रहरूमा विस्तार गरिसकेको छ जहाँ यसका उत्पादनहरूको औसत बिक्री मूल्य ३ लाख युआन (करीब ६९ लाख रूपैयाँ) भन्दा बढी रहेको छ। ब्रान्डले यसअघि नै विदेशी बजारहरूमा नाफा कमाउन सफल भइसकेको छ ।
जसले इजिप्टको उच्च-स्तरीय विद्युतीय सवारी साधन बजारमा १० प्रतिशत हिस्सा ओगटेको छ भने थाइल्याण्डको विलासी शुद्ध विद्युतीय एसयूभी बजारमा एभटर ११ मार्फत पहिलो स्थान हासिल गरेको छ।
सन् २०३० सम्ममा एभटरले ११५ भन्दा बढी देश तथा क्षेत्रहरूमा प्रवेश गर्ने लक्ष्य राखेको छ भने विदेशी बजारको बिक्री कुल बिक्रीको ५० प्रतिशतभन्दा बढी पुर्याउने योजना बनाएको छ।

















