दशैँका बेला सहज हुने भनिएको संयुक्त ग्यास बिक्री वितरण एकाएक बन्द, उपभोक्ता थप अन्योलमा
दशैँका बेला उपभोक्तालाई सहज बनाउने भनिएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री वितरण प्रणाली उद्योगीहरूले अचानक बन्द गर्ने घोषणा गरेका छन्।
काठमाडाैँ । दशैँको समयमा आम उपभोक्तालाई ग्यास सहज रूपमा उपलव्ध गराउने भन्दै काठमाडौं उपत्यकामा सुरु गरिएको संयुक्त बिक्री वितरण प्रणाली हिजो-आज गरिएका छिटो-छिटोका निर्णयसँगै अन्ततः रोकिने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले सुरुमा चाडपर्वलाई लक्षित गरेर लागू गरेको जुनसुकै ब्रान्डका सिलिन्डर साट्न पाइने र पायक पर्ने ठाउँबाट ग्यास लिन सकिने व्यवस्था अब बुधवारदेखि पूर्ण रूपमा बन्द हुने भएको हो।
गत आइतवारदेखि काठमाडौं उपत्यकाका सीमित केन्द्रबाट यो सेवा थालिएको थियो। उपभोक्ताको भीडभाड बढेपछि सुरुमा ६ स्थानबाट सुरु गरिएको बिक्री केन्द्रलाई बढाएर सोमवार ११ वटा पुर्याइएको थियो। सुरुमा असोज मसान्तसम्म चल्ने भनिएको यो सुविधा भोलिपल्टै फेरि मिति घटाएर असोज ३० गते पुर्याइएको थियो।
तर, मंगलवार संघले फेरि निर्णय बदल्दै भोलि बुधवारसम्म मात्रै ग्यास साटफेर तथा बिक्री गरिने र बिहीवारदेखि पुरानै शैलीमा डिलरमार्फत ग्यास पाइने स्पष्ट पारेको छ।
बिहीवार र शुक्रवार डिलरहरू मार्फत नियमित रूपमा ग्यास आपूर्ति गर्नुपर्ने बाध्यता रहेको कारण देखाउँदै संयुक्त बिक्री व्यवस्था बुधवारसम्म मात्रै लागू हुने संघका अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन्।
बजारमा ग्यासको कुनै किसिमको अभाव नरहेको र नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात पनि नियमित तथा सहज रूपमा भइरहेको संघको दाबी छ।
उद्योगीहरूले बजारमा ग्यासको सहज आपूर्ति भइरहेको तर्क गरे पनि तोकिएका सीमित केन्द्रहरूमा ग्यास साट्न पुग्ने उपभोक्ताहरूको अत्यधिक भीड र लामा लाइनले भने सर्वसाधारणले झनै सास्ती खेप्नुपरेको यथार्थ देखाएको छ।
आफ्नै नजिकको टोल वा डिलरबाट सहजै ग्यास पाउनुको साटो टाढाका बिक्री केन्द्र धाउनुपर्दा दसैंका बेला उपभोक्ताहरू थप हैरानीमा परेका छन्।
संघले उपभोक्ताले भोग्नुपरेको असुविधालाई ध्यानमा राख्दै अब उप्रान्त नियमित रूपमा डिलरमार्फत नै ग्यास बिक्री वितरण सुरु गरिने बताएको छ। तसर्थ, अब आफ्नो नजिकैको नियमित डिलरमा गई ग्यास खरिद गर्न संघले आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।


















