२८ आश्विन २०८३, बुधबार

भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीको पहिलो अन्तर्राष्ट्रिय स्टोर नेपालमा



काठमाडौं। भारतीय विद्युतीय स्कुटर निर्माता कम्पनी रिभर मोबिलिटीले नेपालमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा व्यवसाय विस्तार गर्ने क्रममा विशाल ग्रुपसँगको साझेदारीमा काठमाडौंको नक्सालमा स्टोर खोलेको हो ।

नक्सालस्थित नारायण चौर, सामा मार्गमा रहेको स्टोरबाट ग्राहकले स्कुटरको टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन् । कम्पनीले बिक्रीपछिको सेवा उपलब्ध गराउन भीमसेनस्थानस्थित भीजी सुजुकी सर्भिस सेन्टरमा छुट्टै सर्भिस सेन्टरसमेत स्थापना गरेको छ ।

रिभर मोबिलिटीले गत महिना काठमाडौंमा आयोजित नाइमा एक्स्पो २०२६ मार्फत आफ्नो विद्युतीय स्कुटर ‘इन्डी’ नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार स्कुटरप्रति ग्राहकको चासो बढ्दै गएपछि १५० भन्दा बढी प्रि-अर्डर प्राप्त भएका छन् । स्टोर उद्घाटनका अवसरमा ग्राहकलाई स्कुटर हस्तान्तरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२८ मार्चसम्म नेपालका सबै प्रदेशमा स्टोर विस्तार गर्ने लक्ष्य लिएको छ । विशाल ग्रुपसँगको सहकार्यमा प्रमुख सहरहरुमा बिक्री तथा सर्भिस नेटवर्क विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

‘इन्डीमा ४ किलोवाट आवर क्षमताको ब्याट्री छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा आईडीसी मापदण्डअनुसार १६० किलोमिटरसम्म यात्रा गर्न सक्छ। स्कुटरको अधिकतम गति प्रतिघण्टा ९० किलोमिटर छ। १७७ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, १४ इन्चका पाङ्ग्रा र ५५ लिटर क्षमताको लक गर्न मिल्ने स्टोरेज यसका प्रमुख विशेषता हुन् ।

नेपाल प्रवेशलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको महत्त्वपूर्ण चरणका रूपमा उल्लेख गर्दै रिभर मोबिलिटीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरविन्द मणिले ग्राहकको विश्वास र सेवाको गुणस्तरलाई प्राथमिकता दिइएको बताए । विशाल ग्रुपका निर्देशक निकुञ्ज अग्रवालले पनि कम्पनीको अटोमोटिभ क्षेत्रको अनुभव र देशव्यापी सञ्जालमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

रिभर ‘इन्डी’को नेपालमा एक्स-शोरुम मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ । ग्राहकले नक्सालस्थित स्टोरमा गएर स्कुटरको टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन् । अनलाइनबाट पनि कम्पनीको वेबसाइट मार्फत जानकारी लिन सकिनेछ ।

सन् २०२१ मा स्थापना भएको रिभर मोबिलिटी भारतको बेङ्गलुरुमा आधारित विद्युतीय सवारीसाधन निर्माता कम्पनी हो । विशाल ग्रुप नेपालको पुरानो व्यावसायिक समूहहरूमध्ये एक हो, जसले अटोमोटिभ वितरण, वित्तीय सेवा तथा उत्पादनलगायतका क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।