लगानीकर्ताको हात खाली नराख्ने सिटिजन्स बैंकले कति दियो लाभांश ?
काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा बुधबार काठमाडौँको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा सभा सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। जसअनुसार बैंकको चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ। यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ।
बोनस सेयर र नगद लाभांशसहित बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश वितरण गर्नेछ। बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। बैंकको विगत २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै बैंकको कामकारबाही अघि बढाइने बताए। उनले संस्थागत सुशासन र अनुपालनाको स्तर उच्च राख्न बैंक प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा यी पक्षलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। साथै, बैंकलाई सहयोग पुर्याउने सेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
लगानीकर्ताको खाली हात नराख्ने सिटिजन्सको रणनीति
सिटिजन्स बैंकले पछिल्ला पाँच आर्थिक वर्षमा विभिन्न दरमा लाभांश वितरण गर्दै आएको छ। बैंकले कुनै वर्ष बोनस सेयरमार्फत चुक्ता पुँजी बढाउने रणनीति अपनाएको छ भने कुनै वर्ष नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ। बैंकको पछिल्ला पाँच आर्थिक वर्षको लाभांश अवस्था यस्तो छ।
| आर्थिक वर्ष | बोनस सेयर | नगद लाभांश | कुल लाभांश |
|---|---|---|---|
| २०८२/८३ | ३.८०% | ०.२०% | ४.००% |
| २०८१/८२ | ५.००% | ०.२६% | ५.२६% |
| २०८०/८१ | ४.००% | ०.२१% | ४.२१% |
| २०७९/८० | — | ५.७९% | ५.७९% |
| २०७८/७९ | — | ९.००% | ९.००% |
बैंकले बैंकिङ सेवाको विस्तार र प्रविधिमा आधारित नवीन सेवा सञ्चालनलाई पनि प्राथमिकता दिँदै आएको छ। बैंक अफ द इयर २०२४ र २०२५ को अवार्ड प्राप्त गरेको बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ। बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा उपलब्ध गराएको जनाएको छ।
हाल बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

















